समाज

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज

काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्गता सम्बन्धी दिवस आज (शुक्रबार) परेको छ ।  अपाङ्गता भएकाको हकहित र अधिकारको रक्षाका लागि पैरवी गर्दै प्रत्येक वर्ष डिसेम्बर ३ मा यो दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९२ देखि अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन सुरु गरेको हो । अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्दै चुनौतिहरुको समाधान निकाल्न, अपाङ्गतासम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उदेश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ । अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्नु र यसबारे हुनसक्ने समस्याहरुको समाधान निकाल्ने प्रयास गरिनु यो दिवसको मुख्य उदेश्य हो । यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा ‘पोस्टकोभिड समयमा अधिकारका लागि लडाइँ’ भन्ने तय गरिएको छ । दुई वर्षभन्दा अघिदेखि विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । कोरोना सङ्क्रमणले अरुजस्तै अपाङ्गता भएकाहरुलाई पनि समस्यामा पारेको छ । यही विषयलाई मध्यनजर गर्दै आजको दिन अपाङ्गता भएका मानिसहरुको अधिकारका पक्षमा विशेष कार्यक्रम गरिने छ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई अलिक फरक नजरले गरिन्छ । कतिपयले रुढीवादी अन्धविश्वासका कारण पनि यस्तो फरक सोच राख्ने गरेको पाइन्छ । तर, पछिल्लो समय अपाङ्गता भएकालाई हेर्ने नजरमा परिवर्तन हुन थालेको छ । सार्वजनिक स्थलहरुमा अपाङ्गमैत्री संरचना बन्न थालेका छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर नयाँ संरचना निर्माणमा ध्यान दिन थालिएको छ । उनीहरुलाई विशेष अवसर प्रदान गर्न थालिएको छ । साभार : कोसीअनलाइन

Comment here