समाज

अस्तव्यस्त अफगानिस्तान

काठमाडौं । तालिवानले मुलुक कब्जा गरेपछि अफगानिस्तानको अवस्था अस्तव्यस्त एवं कहालीलाग्दो बनेको छ । त्यहाँका सैनिक र सर्वसाधारणसमेत भागेर अर्को मुलुकतिर गइरहेका छन् । मुलुकमा अस्थिरता बढेको छ । तालिवानले राजधानी काबुलसँगै सिङ्गो मुलुक कब्जा गरेपछि अफगानिस्तानमा गम्भीर मानवीय सङ्कट निम्तिएको भनेर अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरेका छन् । तालिवान काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले गत आइतबार देश छाडेका थिए । उनी कहाँ छन् भन्ने खुलेको छैन । राष्ट्रपतिले नै देश छाडेपछि त्यहाँका सर्वसाधारण त्रसित एवं आतङ्कित बनेका छन् । अफगानिस्तानमा घानी नेतृत्वको सरकार कोल्याप्स भएको छ । घानीले देश छाडेपछि तालिवानले आफ्नो जित घोषणा गरेको थियो । अब तालिवानले आफ्नो सरकार बनाउने छ । विगत २० वर्षदेखि अमेरिका नेतृत्वको सैन्य अभियान अन्त्यसँगै मुलुक कब्जा गर्दै अफगानिस्तानमा तालिवान फेरि सत्तामा आइपुगेको छ । 

तालिवानको डरका कारण काबुल छाड्न चाहनेहरुको भिड विमानस्थलमा अत्याधिक बढेको छ । अमेरिकी एयरफोर्सको एक विमानसँगसँगै रनवेमा मानिसहरु दौडिरहेको र सो विमान उडेपछि केही मानिसहरु खसेको भिडियो सार्वजनिक भएको छ ।विमानस्थलको स्थिति नियन्त्रणमा लिन अमेरिकी सैनिकले गोली चलाउँदा नौ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । ६० भन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर अफगानिस्तानबाहिर जान चाहनेहरुलाई जान दिन तालिवानलाई आह्वान गरेका छन् । तालिबानले मुलुक कब्जा गर्दै नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढाएको छ । नयाँ सरकार गठनमा तालिवान लागिरहँदा भय र त्रासमा रहेका सर्वसाधारणले अफगानिस्तान छाड्न अनेक प्रयास गरिरहेका छन् । विमानस्थल बन्द गरेर सैनिकहरुले आफ्ना विमान उडानको प्रयास गरेका थिए । तर स्थानीय बासिन्दा धावनमार्गमै पुगेका हुन् । उनीहरु विमान उड्नका लागि गुडिरहँदा सँगै कुदिरहेको दर्दनाक दृश्य देख्न सकिन्छ । विमानको चारैतिर मानिसहरु चढेका थिए ।अहिले भने अमेरिकी सैन्य विमानहरुको उडान अवतरण नियमित रहेको जनाइएको छ । सर्वसाधारणको उद्धारमा विशेष ध्यान दिन विभिन्न निकायहरुले आग्रह गरिरहेका छन् । अमेरिका तथा उसका अरु सहयोगी देशहरुले आफ्ना कूटनीतिक कर्मचारी तथा नागरिकहरु काबुलबाट फिर्ता लगिरहेका छन् । सोमबार जर्मनीको जहाज पनि काबुल पुगेको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसैबीच सीमा पार गर्न खोजेको भन्दै उज्बेकिस्तानले अफगानिस्तानका सैनिक चढेको एउटा विमानलाई खसालिदिएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । विमानमा कति जना सवार थिएभन्ने खुलेको छैन । विमानभित्र रहेकाहरु जीवितै छन् कि छैनन्भन्ने यकिन पनि हुन सकेको छैन । पछिल्लो ४८ घण्टाको अवधिमा सात सय ५० जना अफगान सैनिक सैन्य विमानमार्फत भागेर उज्बेकिस्तान पुगेको बिबिसीले जनाएको छ । उज्बेकिस्तान प्रशासनका अनुसार दक्षिणी शहर तेरमेजमा ४६ सैन्य विमान अवतरण भएका छन् । साभार : कोसी अनलाइन


Comment here