काठमाडौं । विश्व पृथ्वी दिवस आज (शुक्रबार) परेको छ । वातावरण संरक्षणमा जोड दिँदै नेपालसहित विश्वभरका एक सय ९२ बढी देशमा विविध कार्यक्रम गरेर भव्यताका साथ यो दिवस मनाइँदै छ । पृथ्वीको सुरक्षा र संरक्षणका सवालमा आवाज उठाउँदै प्रत्येक वर्ष अप्रिल २२ मा यो दिवस मनाउने गरिन्छ । यस वर्षको विश्व पृथ्वी दिवसको नारा ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने तय गरिएको छ । आजकै दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ । मौसमको ध्रुवीय फरक अनि विविधताको अवसरमा पृथ्वी दिवस मनाउने गरिएको हो । अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा पहिलो पटक सन् १९७० अप्रिल २२ मा यो दिवस मनाएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वीको आवश्यकता र महत्वलाई प्रष्ट पार्यो । संयुक्त राष्ट्रसङ्घको ६३औँ महासभाले भने सन् २००९ मा विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण र तीव्र औद्योगिकरणले पृथ्वीमा अनेक समस्या निम्ताएको छ । पृथ्वीमा देखा परेका समस्याहरूको न्यूनीकरण गर्न र मानिसमा यसबारे जागरण ल्याउन पृथ्वी दिवसको ठुलो महत्व छ । दिवसका अवसरमा पर्यावरण तथा वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ । नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रम गर्छन् । पृथ्वीको बढ्दो तापमान एउटा ठुलो चुनौतीका रूपमा खडा भएको छ । बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित हिमालहरु पग्लिँदै गएका छन् । सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओज़ोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । प्रकृतिलाई सर्वोपरि ठानिए पनि यस्ता समस्या आउनुमा मानवीय गतिविधि प्रमुख कारण हुन् । साभार : कोसी अनलाइन


Comment here