समाज

आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदै जसपाको यादव पक्ष

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकताको दाबी गर्न आज (शुक्रबार) निर्वाचन आयोग जाँदै छ।

राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार आधिकारिकता दाबी गर्न पार्टी अध्यक्ष सहित केही पदाधिकारी दिउँसो आयोग जान लागेका हुन्। पार्टीको अहिलेको कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ। 

यसअघि ठाकुर पक्ष र यादव पक्षले एक अर्कालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगमा बुझाएको थियो। यादवले बहुमत कार्यकारिणीको हस्ताक्षरसहित कारबाहीको पत्र बुझाएका थिए भने ठाकुर पक्षले यादवलाई कारबाहीको पत्र मात्रै आयोगमा बुझाएको थियो। आयोगले दुवै पक्षको मागलाई अस्वीकार गरेको थियो। 

त्यस्तै बिहीबार पार्टी कार्यलय बालकुमारीमा बसेको अध्यक्ष यादव पाक्षको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णयसमेत गरेको थियो।

यसअघि अध्यक्ष यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । त्यस्तै लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ। 

साथै बाढी पहिरोमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्तालाई बैठकले निर्देशन दिएको छ भने बाढी पीडितका लागि राहत प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ।

Comment here