समाज

आन्दोलनरत पक्षलाई संवादमा आउन प्रधानन्यायाधीश जबराको आह्वान

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गरेका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले राजीनामा दिन चर्को दबाब दिँदै आफूविरुद्ध आन्दोलन चर्काइरहेका बेला प्रधानन्यायाधीश जबराले गतिरोधको अन्त्यका लागि उपयुक्त विकल्प संवादमा आउन आह्वान गरेका हुन् । प्रधानन्यायाधीश जबराले सोमबार आफ्नो सचिवालयमार्फत् सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा न्यायालयमा देखिएको गतिरोधको अन्त्यका लागि संवादमा आउन आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलगायत बार इकाईहरूलाई आह्वान गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनले न्यायालयको संस्थागत सुधार र सवलीकरणका लागि हालसालै भएको संवाद र अन्तर्क्रियाबाट प्राप्त सुझाव र न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयमले गठन गरेको आयोगका प्रतिवेदनहरू कार्यान्वयनका लागि अग्रसरता लिन पनि प्रधानन्यायाधीश जबराले आफू सधैँ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरेको बताए । प्रधानन्यायाधीश जबराले संविधानको सफल कार्यान्वयनका लागि राज्यका सबै अङ्गसहित राज्यका सम्पूर्ण निकायहरू एकताबद्ध हुनुपर्ने बेलामा सर्वोच्च न्यायिक अङ्ग र यसको प्रमुख आफूमाथि एकपक्षीय ढङ्गले निरन्तर रूपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । प्रधानन्यायाधीश जबराले यसबीचका घटनाक्रमले न्यायपालिकाको पवित्रता, गरिमा एवम् न्यायिक सर्वोच्चताको महान विरासतमाथि प्रश्न उठेको स्वीकार गर्दै त्यसलाई हल गर्न सम्बद्ध सरोकारवाला पक्षसँग आफूले हृदयको गहिराइबाट तत्काल संवाद गर्न चाहेको पनि स्पष्ट पारे । विज्ञप्तिमा उनले नेपाल बार एसोसिएसन र न्यायालयबीच टुटेको सम्बन्ध जोड्न सकिने पनि उल्लेख गरेका छन् ।साभार : कोसी अनलाइन

Comment here