शिक्षासमाज

एसइई परीक्षा वैशाखमा, कक्षा १२ को जेठमा हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने, ‘बाेर्डको बैठकबाट एसइई वैशाख र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय भएको छ । चाँडै परीक्षाको तालिका सार्वजनिक गर्छौं ।’कोरोनाका कारण चालु शैक्षिक सत्रको पठन–पाठन ढिलोगरी सुरु भएकाले परीक्षा पनि थोरै ढिलो गर्ने निर्णय गरिएको उनले बताए । कोभिड–१९को सङ्क्रमणदर उच्च भएको अवस्थामा देशभरका विद्यालय बन्द छन् । यस्तो परिस्थितीमा परीक्षाको भविष्यबारे अन्योलसमेत छ ।यस्तोमा कस्तो ‘मोडालिटी’मा परीक्षा गर्ने भन्ने विषयमा परिस्थिति हेरेर पछि निर्णय गरिने बाेर्ड अध्यक्ष शर्माले बताए । विद्यार्थीले शैक्षिक सत्रभर पूर्णरूपमा पठन–पाठन गर्न नपाएको र हाल विद्यालय बन्द रहेको सवालमा उनले भने, ‘शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्ने गरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने गरी निर्णय गरेका हौं ।’ 

एसइईको परीक्षा प्रदेशस्तरीय हुने 

यस्तै बाेर्डले यही शैक्षिक सत्रदेखि नै एसइई परीक्षालाई प्रदेशस्तरीय बनाउने भएको छ । संविधान र शिक्षा ऐनअनुसार समायोजन गर्दै यही शैक्षिक सत्रदेखि नै एसइईलाई प्रदेशस्तरीय बनाउने निर्णय भएको अध्यक्ष शर्माले बताए । संविधान र शिक्षा ऐनमा कक्षा ८ को स्थानीयस्तरीय, कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरेको छ ।‘संविधानअनुसार परीक्षा प्रणालीको कार्यान्वयन गर्न एसइई प्रदेशस्तरीय गर्ने निर्णय भयो,’ उनले भने, ‘यही शैक्षिक सत्रबाट प्रदेशस्तरीय गराउने तयारीमा जुटेका छौँ ।’साभार : कोसी अनलाइन


Comment here