जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषा सभापति पदमा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार ‘जोगी’ ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।


आगामी माघ १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा पजियार कांग्रेसका नेता विमलेन्द्र निधिको समूहबाट उम्मेदवारी दिन लागेका हुन् ।
उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै नेता पजियारले धनुषामा कमजोर रहेको पार्टीलाई बलियो बनाउन र अगामी तीनै तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउने मुख्य योजना रहेको बताए ।उनले पार्टीको हालै सम्पन्न प्रदेश २ को अधिवेशनमा सरकार र सत्ताको दम्भ र धाकधम्कीहरु आएको दावी गर्दै जिल्ला अधिवेशनमा त्यस्तो कुनै षडयन्त्र नचल्ने बताए । तीन कार्यकाल धनुषा निर्वाचन क्षेत्र नं. ४ का सभापति चलाइ सकेका पजियारले पार्टीको स्थानीय तहको वडा , नगर देखि क्षेत्र सम्मको निर्वाचनमा सर्वसम्मतीले नेतृत्व चयन गर्न सफल भएको बताउँदै उनले सभापतिमा तिनजना उम्मेदवार भएपनि आफू पहिलो चरण मै जित्ने दावी समेत गरे ।


उनले भने, ‘मेरो उम्मेदवारी पार्टी सुदृढीकरणका लागि हो । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसमा कुनै गुट, उपगुट नभई अग्रजको सम्मान गर्दै युवालाई समेट्दै जिल्लामा पार्टीको संगठन बिस्तार गर्नको लागि नै जिल्ला सभापतिमा मैले उम्मेदवारी दिएको हुँ ।’ उनले समाज रुपान्तरण र समाबेशी समाजको निर्माणका लागि सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताए ।
त्यसैगरी पजियारलाई सभापतिका लागि प्रस्ताव गरेका मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा सभामा बोल्दै पजियारको नेतृत्वमा धनुषामा कांग्रेस एक हुने दावी गरे । उनले पजियारको नेतृत्वमा जिल्लामा कुशल नेतृत्व ल्याउन मतदातासँग आग्रह समेत गरे ।
वर्तमान जिल्ला सभापती गिरीले पजियार कुशल नेतृत्व दिन सक्ने भएकाले आफनो भरपुर समर्थन रहने बताए ।काँग्रेसको प्रदेश २ को पहिलो अधिवेशन सम्पन्न भएसंगै देशमा अधिवेशन हुन वाँकी १६ जिल्लाको अधिवेशनले माहोल तातिएको छ । बाँकी रहेको १६ जिल्लामा प्रदेश २ कै सवै आठ वटै जिल्लामा अधिवेशन हुन वाँकी छ ।यस अघि पुष २७ गते नै तय भएको जिल्ला अधिवेशन अव माघ १५ गते हुने बुधवार कांग्रेस केन्द्रिय कार्यालयले सर्कुलेशन जारी गरेको छ ।प्रदेश २ का जिल्लाहरु अधिवेशनको निकै चहल पहल देखिएको छ । प्रत्येक स्थानीय तहको प्रत्येक वडाबाट १५ जना प्रतिनिधि गरि धनुषाको एक उपमहानगरपालिका सहित १८ वटा स्थानीय तहबाट जिल्ला अधिवेशनमा करिव ३ हजार २ सय मतदाता रहेको छ ।यता धनुषा सभापतीमा संस्थापन पक्षबाट वर्तमान उपसभापती सन्तोष यादव, पुर्व सांसद दिनेश प्रसैला यादव र वर्तमान सचिव बिशेश्वर यादव समेत आकांक्षी छन् । यद्यपी उनीहरुले भने अहिले सम्म उम्मेदवारीको घोषणा गरेका छैनन् ।साभार : शिरीष न्युज
Comment here