समाज

काङ्ग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि : गच्छदार

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले काङ्ग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तक्र्रियामा उनले लोकतन्त्र रक्षाका लागि काङ्ग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘शीर्ष नेताहरूको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गएको छ, यसको रक्षाका लागि काङ्ग्रेसले अग्रसरता लिनुपर्छ,’ उनले भने । संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई काङ्ग्रेस पार्टीसँग एकता गरेको उनको भनाइ थियो । पार्टीको १४ औँ महाधिवेशनमा काङ्ग्रेसभित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने उनले बताए । महाधिवेशनको मिति सारेर टार्ने अवस्था नरहेको उपसभापति गच्छदारको भनाइ थियो । 

काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले लोकतन्त्र बलियो बनाउनका लागि काङ्ग्रेस बलियो हुनुपर्ने बताए । ‘काङ्ग्रेसभित्रको व्यवस्थापन कमजोर छ, यसलाई सुढृढ र गतिशील बनाउनका लागि काङ्ग्रेसका सबै नेता तथा कार्यकर्ताको उत्तिकै दायित्व छ,’ उनले भने । पूर्वमन्त्री खाँडले नयाँ पुस्तालाई काङ्ग्रेससँग जोड्ने अवस्था निर्माणमा नेतृत्व लाग्नुपर्ने बताए । काङ्ग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए जनताको अधिकार कमजोर हुने उनको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले नीति, कार्यक्रम र सक्षम नेतृत्वबिना पार्टी अगाडि बढ्न नसक्ने बताए । समयमा महाधिवेशन गर्न नसक्दा काङ्ग्रेस कमजोर बन्दै गएको उनको भनाइ थियो । उनले पार्टीभित्रको गुट–उपगुटको अन्त्यका लागि सबल नेतृत्व पार्टीलाई आवश्यक रहेको उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं काङ्ग्रेस नेता डा गोविन्दराज पोखरेलले काङ्ग्रेसभित्रको आगामी नीति र नेतृत्व कस्तो हुन्छ भन्नेबारेमा बहस हुनु जरुरी रहेको बताए । लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले काङ्ग्रेसले आगामी महाधिवेशनलाई सहमति, सहकार्य र एकताको महाधिवेशन बनाउनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सभापति र प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक एवं काङ्ग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले लोकतन्त्रको रक्षा गर्दै पार्टीलाई बलियो बनाउनका लागि आफूले उक्त अभियान सञ्चालन गरेको बताइन् । यसअघि उक्त अभियान प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको छ । आगामी दिनमा कर्णाली र सूदुुरपश्चिम प्रदेशमा सञ्चालन गरिने डा. सङ्ग्रौलाले बताइन् ।

साभार : कोशी अनलाइन

Comment here