समाज

काबुल विमानस्थलमा अर्को पनि आक्रमण हुनसक्ने अमेरिकाको आशङ्का

एजेन्सी । अमेरिकाले अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को पनि आक्रमण हुनसक्ने आशङ्का गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको सम्भावना उच्च रहेको बताएको बिबिसीले जनाएको छ । विमानस्थल अझै पनि आक्रमणको जोखिममा रहेको सैनिक कमाण्डरलाई उद्रित गर्दै बाइडेनले बताएका हुन् । उनका अनुसार अबको केही दिनभित्रै काबुल विमानस्थलमा अर्को आक्रमणको जोखिम छ । विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तान छाड्नेहरु बढेका छन् । त्यही क्रममा अमेरिकाले आफ्ना सेना परिचालन गर्दै काबुलस्थित विमानस्थल नियन्त्रणमा लिएर आफ्नासहित विभिन्न मुलुकका नागरिकको उद्धार गरिरहेको छ । उद्धारको समयसीमा अगस्ट ३१ मा सकिँदै छ ।

तालिबानले पनि अगस्ट ३१ सम्ममा आफ्ना सैनिक फिर्ता लैजान अमेरिकालाई भनिसकेको छ । अब त्यो समय दुई दिन मात्रै बाँकी छ । त्यसपछि पनि अमेरिकाले उद्धारलाई जारी राख्छ कि आफ्ना सैनिक फिर्ता लैजान्छभन्ने कुरा चासोको विषय बनेको छ । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गत बिहीबार भएको बम हमलाका बाबजुद अमेरिकाले उद्धार कार्य जारी राखेको छ । युके, इटलीलगायत अन्य देशले भने काबुल छोडिसकेका छन् । उक्त विष्फोटमा एक सय ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । आईएस–के ले आक्रमणको जिम्मेवारी लिएको थियो । 
बदलामा अमेरिकाले शुक्रबार अबेर अफगानिस्तानको नान्गहार प्रान्तमा ड्रोन आक्रमण गरी आईएस–के का दुई उच्च पदस्थ सदस्यहरूलाई मारिदिएको थियो । उनीहरूलाई बिहीबार भएको आक्रमणको योजनाकारका रूपमा लिइएको छ । आक्रमण गर्दा अमेरिकाले आफूहरूसँग परामर्श नगरेको भन्दै तालिबानले विरोध गरिरहेको छ । आईएस–के अफगानिस्तानको जिहादिस्ट समूहहरूमध्ये चरम अतिवादी र हिंसात्मक समूह हो । जसकोअफगानिस्तान नियन्त्रणमा लिएको तालिबानसँग प्रमुख भिन्नता रहेको छ । उसले तालिबानले युद्ध मैदान छोडर अमेरिकीसँग शान्ति वार्ताको पक्षमा गएको आरोप लगाएको छ । तालिबान सत्ता पुगेपछि दुई साताको अवधिमा अमेरिकाले अफगान र विदेशी नागरिकसहित एक लाख १२ हजारभन्दा बढीको अफगानिस्तानबाट उद्धार गरिसकेको छ । अमेरिकाले  अफगानिस्तान छाड्न चाहनेमध्ये एकैदिन छ हजार आठ सय जनाको उद्धार गरेको छ । तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका छन् । अमेरिकी र अरु विभिन्न देशका विमानले उद्धारलाई तीव्र पारेका छन् । साभार : कोसी अनलाइन

Comment here