मनोरंजनसमाज

खेसरीलालले लगिसके १६ लाख, टिकटको पैसा पनि लुटिएको भन्दै आयोजकको टाउकोमा हात

काठमाडौं । सुनसरी जिल्लाको बर्जु गाउँपालिकास्थित सिमसार क्षेत्रमा अवस्थित छ, १५२ बिघा क्षेत्रफलमा फैलिएको बुर्जुताल । पर्यटकीय सम्भाव्यता बोकेको यही तालको प्रचारप्रसारका निम्ति तीन वर्षदेखि बर्जु महोत्सव आयोजना हुँदै आएको छ ।यसपाली पुस २३ गतेबाट तेस्रो बर्जु महोत्सव सुरू भएको थियो । तर, यसको अन्त्य निकै दु:खद ढंगले भयो । अन्तिम दिन हिजो मंगलबार एक भारतीय कलाकारलाई बोलाएर भव्य समापन गर्ने तयारी आयोजकले गरेका थिए । तर, कार्यक्रम मात्रै विथोलिएन कि ठूलो भौतिक क्षतिसमेत भएको छ ।भोजपुरी स्टार खेसरीलाल यादवलाई कार्यक्रमस्थलमा पुग्न प्रहरीले रोकपछि दर्शकले वितण्डा मच्चाएका थिए । ठूलो आर्थिक नोक्सानी खेप्नु परेपछि आयोजक बर्जु सामुदायिक विकास केन्द्र अहिले संकटमा परेको छ ।आयोजकले जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर नै महोत्सवको आयोजना गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले १२ दिने महोत्सवका लागि आफूहरुलाई पूर्वस्वीकृति दिएको आयोजक संस्थाका श्रवण चौधरीले बताए ।उनले  भने, ‘त्यसबेला नै हामीलाई कोरोनाको कारण देखाएर रोक लगाइएको भए यो अवस्था आउने नै थिएन ।’महोत्सव १० दिनसम्म निर्वाध चलेको थियो । पुस २ गते प्रशासनबाट महोत्सव रोक्नका लागि आदेश आएको चौधरीको स्वीकारोक्ति छ ।
उनले भने, ‘प्रहरी र प्रशासनबाट हामीलाई आदेश आएको हो । तर, हामीले भारतीय कलाकारलाई महँगो पारिश्रमिक दिइसकेका थियौं । त्यसैले ४ गतेको कार्यक्रम नरोकिदिन बारम्बार अनुरोध गरेका थियौं ।’

यो पनि पढ्नुहोस् : खेसरीलालले भने- विध्वंसका जिम्मेवार महोत्सव आयोजक, मलाई क्षतिपूर्तिदिनुपर्छ (भिडिओसहित)

आयोजकले भारतमै पुगेर यादवलाई १० लाख भारु (१६ लाख रूपैयाँ) पारिश्रमिक अग्रिम भुक्तानी गरेको थियो । तर, कार्यक्रम रोक्न दवाव आएपछि आयोजक समस्यामा पर्‍यो । यता पारिश्रमिक लिइसकेका यादवले पैसा फिर्ता गर्न चाहेनन् ।प्रशासनले कार्यक्रम रोक्न आदेश दिएकोबारे आफूलाई पूर्वसूचना नगरिएको दावी यादवले गरेका छन् । तर, जिल्ला प्रशासन कार्यालयबाटै उनलाई कार्यक्रममा नआउन खबर गरिएको स्रोतले बतायो ।‘कोरोनाका कारण भीडभाड हुने कार्यक्रममा रोक लगाइएको भनेर उहाँलाई अग्रिम जानकारी गराइएको थियो, तर तपाईंहरूको कुरा आपसमा मिलाउनुस्, भन्ने जवाफ मिल्यो,’ स्रोतले भन्यो ।यादव ३० जनाको टोली लिएर कार्यक्रमका लागि हिजो बिहान ७ बजे नेपाल प्रवेश गरेका थिए । आयोजकले उनीहरुलाई बिराटनगरको एउटा होटलमा लगेर राख्यो । ११ बजे सुरू हुने कार्यक्रमका लागि यादवको टोलीका सबै सदस्यहरू पाँचवटा स्कर्पियो लिएर होटलबाट महोत्सवस्थलमा पुगेका थिए । उनीहरुलाई प्रहरीले रोकटोक गरेन ।तर, करिब १० बजेतिर यादव जान लाग्दा भने प्रहरी टोली होटल आएर उनलाई घेराउ गरेको थियो । प्रशासनको निर्देशनविपरीत कार्यक्रम गर्न लागिएकाले सुरक्षाको जिम्मेवारी लिन नसक्ने प्रहरीले बताएपछि यादव होटलमै रोकिए ।

प्रहरीले समयमै कार्यक्रममा हस्तक्षेप नगर्दा दु:खद घटना निम्तिएको आयोजकको गुनासो छ ।चौधरीले भने, ‘अरु कलाकारलाई पनि जान रोकेर कार्यक्रमस्थलमा सुरूमै हस्तक्षेप गरेको भए यो अवस्था आउने थिएन ।’यादव नआएपछि कार्यक्रम बिथोलियो । आयोजकले बिहानबाट टिकट बेच्न थालेका थिए । कुर्सीमा बस्नेलाई ५ सय रुपैयाँ र भुइँमा बस्नेलाई ३ सय रूपैयाँको टिकट तोकिएको थियो । एक हजारदेखि १५ सयजति टिकट बिकेको हुन सक्ने चौधरीले बताए । हुलदंगाका क्रममा टिकटबाट उठेको सबै रकम लुटपाट भएको उनको भनाइ छ ।‘आक्रोशित दर्शकले काउन्टरमा समेत आक्रमण गरेर हाम्रो सबै पैसा लुटेर लगे । १०-१२ लाख जति थियो होला,’ उनले भने ।

प्रहरी भन्छ- गाउँपालिका अध्यक्ष जिम्मेवार

प्रहरीले भने पटक-पटक लिखित आदेश दिँदा पनि कार्यक्रम आयोजक र बर्जु गाउँपालिकाको अध्यक्षले जबरजस्ती गर्दा दु:खद घटना भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले संस्थाको नाममा गरिएको भए पनि यो महोत्सवको मुख्य आयोजक बर्जु गाउँपालिका नै भएको बताए ।उनले भने, ‘केन्द्र सरकारले कोभिडका कारण २५ जनाभन्दा बढी जम्मा हुन नपाइने निर्णय २६ गते गरेसँगै २८ गते जिप्रकाबाट सबै गाउँपालिकालाई यस्ता कार्यक्रम रोक्न पत्राचार गरिएको थियो । त्यसको अटेर गर्दै महोत्सव जारी राखिएपछि माघ २ गते फेरि बर्जु गाउँपालिकालाई लिखित निर्देशन दिइयो । गाउँपालिका अध्यक्षलाई नै सीडीओ कार्यालयमा बोलाएर सम्झाउने प्रयास गरियो । तर, उनले अटेर गरे । जिप्रकाको निर्देशनको अवज्ञा गरेकाले यसमा गाउँपालिका अध्यक्ष पूर्णरुपमा जिम्मेवार छन् ।’

घटना रोक्न प्रहरीले हरसम्भव प्रयास गरेको थापाले बताए ।

उनले भने, ‘हामीले केही गरेनौं भन्ने झूटो कुरा हो । प्रहरीले स्टेज बचाएको छ । साउन्ड सिस्टमहरू जोगाएको छ । हो, बाहिर पार्किङमा राखिएका गाडीहरू जले । तर, प्रहरीले हस्तक्षेप नगरेको भए योभन्दा धेरै ठूलो क्षति हुनेवाला थियो ।’थापाका अनुसार प्रहरीले धेरै बल प्रयोग गर्न सक्ने अवस्था थिएन ।‘प्रहरीबाट १५ सेल अश्रु ग्यास प्रयोग भएको छ । गोली मात्र नचलाइएको हो । त्यस्तो भीडभाडमा गोली चलाएको भए भागदौड भएर मान्छे किच्चएर मर्थे । कम्तीमा मानवीय क्षति हुन पाएन । हामीले सुझबुझका साथ काम गरेका छौं,’ उनले भने ।घटनास्थलमा १७५ जनाको प्रहरी बल तैनाथ रहेको थापाले जानकारी दिए । १० औं हजारको भीडलाई यति सुरक्षाकर्मीले नियन्त्रण गर्न नसक्ने उनको भनाइ छ ।

यो पन पढ्नुहोस् : भोजपुरी स्टारलाई प्रहरीले महोत्सव जान रोकेपछि दर्शकले चारवटा गाडी जलाए (भिडिओ)

यादवको टोलीलाई महोत्सवस्थल पुग्न नरोकेकाले घटना भएको भन्ने आयोजकको भनाइलाई लिएर थापा आक्रोशित बने ।उनले उत्तेजित बन्दै भने, ‘त्यो चोर, फटाहालाई हामीले बारम्बार कार्यक्रम रोक्न भन्दा अटेर गर्ने, अनि सबै प्रहरीको थाप्लोमा हाल्न खोज्ने ? गजब लाग्छ बा । हामीले बारम्बार बोलाएर सम्झाउँदा त्यसको दिमाग घाँस खान गएको थियो ?’अरु कलाकारहरूलाई लुकाइछिपाइ चोर बाटोबाट छिराइएको उनले दाबी गरे । मुख्य आकर्षण खेसरीलाल यादव भएकाले प्रहरीको ध्यान उनीतिर हुनु स्वाभाविक भएको उनको भनाइ छ । घटनामा भएको भौतिक क्षतिको जिम्मेवारी आयोजकले नै लिनुपर्ने उनले बताए ।कार्यक्रम बिथोलिएपछि हिजै खेसरीलाल भारत फर्किसकेका छन् । उनको टिमका ६-७ जना भने नेपालमै छन् । फर्किनुअघि यादवले फेसबुक लाइभमा बोल्दै घटनामा आफूहरूको डेढ करोडको क्षति भएको दाबी गरेका थिए । यसको क्षतिपूर्ति आयोजकले दिनुपर्ने उनको माग छ । यद्यपि, आफूले अग्रिम लिएको १६ लाख पारिश्रमिक फिर्ता गर्न भने उनी तयार छैनन् ।साभार : नेपाल प्रेस

Comment here