समाज

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

विराटनगर । छठ पर्वको दोस्रो दिन आज (मङ्गलबार) ‘खरना’ गरिँदै छ । आजको दिन व्रत बसेर साँझ नैवेद्य चढाएर सक्खर हाली बनाइएको खिर, मुला केराको पातमा खाइ ‘खरना’ मनाइन्छ । विशेषगरी तराई मधेसमा मनाइने छठ पर्व अहिले पहाडतिर पनि उक्लिसकेको छ । श्रद्धा भक्तिपूर्वक विशेषतः सूूर्यको पूजा गरी चार दिनसम्म मनाइने यो पर्वमा हिजो (सोमबार) ‘नहाय खाय’ मनाइयो । छठमा कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु भएपछि भोलिपल्ट ‘खरना’ हुन्छ ।आज खरनाको दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका सदस्यले प्रसादका .रूपमा खान्छन् । सूर्यास्तपछि चन्द्र दर्शन गरेर आजको विधि सम्पन्न हुन्छ ।पर्वको तेस्रो दिन भोलि चाहिँ सूर्य उपासनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिला क्षेत्रमा ‘सझुका अरख’ भनिन्छ । सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएपछि छठ समापन हुन्छ । छठ पर्वका लागि बाँसको चोयाले बनाइएका सुपली, नाङ्लो, टोकरी, माटोबाट बनाइएका भाँडाका साथै नरिवल, सुथनी, अदुवा, मिठाई, केराउ, उखुलगायतका सामाग्री चाहिन्छ ।छठ पर्वमा भगवान् सूर्यलाई प्रसादका रूपमा ठेकुवा, भुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारी, वयर, सिङ्घडालगायतका सामग्री चढाउने चलन छ । यी सामग्री माटोले बनेका नयाँ भाँडा र बाँसको टोकरीमा राखेर सूर्यलाई अर्पण गरिन्छ ।अत्यन्त निष्ठा एवम् पवित्रताका साथ यो पर्व मनाइन्छ । छठ ब्रतालुहरू महिना दिनअघिदेखि नै यसको तयारीमा हुन्छन् । शुद्धतामा विशेष ध्यान दिइन्छ । साभार : कोसी अनलाइन


Comment here