विचारसमाज

जनकपुर क्षेत्रका महिलाको योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा

धर्मेन्द्र झा

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष

जनआन्दोलन–२०४६ मा म जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा पढ्थेँ । त्यो बेला म नेविसंघको क्याम्पस इकाइ अध्यक्ष थिएँ । आन्दोलनमा क्याम्पसका विद्यार्थी परिचालनका दृष्टिले ममाथि महत्त्वपूर्ण जिम्मेवारी थियो । क्याम्पसको गतिविधिको प्रभाव जनकपुरमा मात्र सीमित थिएन । दोलखा, रामेछाप, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट, सिराहा, उदयपुर, सप्तरीलगायत विभिन्न जिल्लाबाट धेरै विद्यार्थीहरू रामस्वरूप रामसागर क्याम्पसमा पढ्न आउँथे । त्यति बेला नै आठ–नौ हजार विद्यार्थी उक्त क्याम्पसमा पढ्न आउँथे । पढाइसँगै राजनीतिको आधार थलो पनि हो यो क्याम्पस । क्याम्पसमा पढ्न आउने छात्राहरू पनि पढाइसँगै राजनीतिमा चासो राख्थे । सक्रिय थिए ।

मलाई सम्झना छ, २०४६ को जनआन्दोलनमा यस क्याम्पसमा अध्ययनरत थुप्रै छात्राले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नानु न्यौपाने (स्व.), इन्दिरा अधिकारी, कल्पना शर्मा, अनु यादव, रेखा यादव, पावना गौतम, अन्जना गौतम, पुष्पलता भण्डारी आदिले त्यस बेलाको राजनीतिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यिनका अतिरिक्त त्यस बेला यस्ता पनि अनेक छात्रा थिए जो सामाजिक परिवेशका कारण खुलेर त राजनीतिक गतिविधिमा सहभागी भएनन् तर सहयोग र समर्पणका दृष्टिले तिनको भूमिका निकै महत्त्वपूर्ण रह्यो ।

जनआन्दोलनमा क्याम्पसका छात्रा मात्रै होइन क्याम्पसबाहिरका महिलाको भूमिका पनि उल्लेख्य थियो । राजनीतिक परिवर्तनका लागि सडकमै आन्दोलन गर्ने र आन्दोलनलाई भरपुर सहयोग गर्ने गाउँगाउँका महिलाहरू थिए । सामान्य जस्ता देखिने कतिपय महिलाले आन्दोलनलाई सहयोग गर्ने सन्दर्भमा असामान्य भूमिका निर्वाह गरेका थिए । नेता कार्यकर्ताहरूलाई खाना, खाजा, पानी खुवाएर, प्रहरीको दमनबाट जोगाउन लुकाएर राखेर झन् ठुलो योगदान दिएका थिए तिनले ।

यसरी भूमिका निर्वाह गर्ने धेरैको नाम त सम्झिन कठिन छ । अहिले आएर मैले सम्झिनुपर्दा धनुषा र महोत्तरी जिल्लामा जनआन्दोलनका पक्षमा सक्रिय भूमिका निर्वाह गर्नेमा लीला कोइराला, दानादेवी नेपाली, विजया लाल, अरूणा लाल, सरिता ढकाल, वसन्ती देवी झा, प्रमिला दास, सरस्वती चौधरी, मिनाक्षी झालगायतको नाम आदरपूर्वक उल्लेख गर्न चाहन्छु ।

यसै सन्दर्भमा म लक्ष्मी भण्डारीलाई सम्झन्छु । जानकी मन्दिरको नजिकै उहाँको स्टुडियो थियो— लक्ष्मी फोटो स्टुडियो । फोटो खिच्न जाने आवरणमा आन्दोलनका लागि छलफल गर्ने ठाउँ थियो त्यो । जहाँ जाँदा पनि उहाँको घाँटीमा क्यामेरा झुण्डिएको हुन्थ्यो । ‘क्यामेरा झुण्ड्याएकी महिला’ भन्ने परिचय नै बनेको थियो । जनकपुर क्षेत्रका आन्दोलनका तस्बिरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएर आन्दोलनका पक्षमा जनमत तयार गर्न उहाँको भूमिका अविस्मरणीय छ ।साभार : सन्धान

Comment here