समाज

जनकपुर बमकाण्डः जिल्लाको फैसला उच्च अदालतले उल्ट्यायो, ‘टकला’लाई राहत

जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा भएको बमकाण्डमा पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’लाई राहत मिलेको छ । ९ वर्ष अगाडिको बम काण्डमा साहलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर आइतबार अबेर राति उच्च अदालत जनकपुरले फैसला पुनरावलोकन गरी सजाय घटाएर ७ वर्षमा झारिदिएको छ ।उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले यो फैसला गरेको हो । फैसलामा साहलाई ज्यानमार्ने मुद्दामा ७ वर्ष कैद र षड्यन्त्र रचेको ठहर गरिएको छ । जिल्ला अदालतले साहलाई मुख्य अभियुक्त ठहर गरेको थियो ।साह हाल काठमाडौंको नख्खु कारागारमा छन् । उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुबै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटक तत्कालीन मधेशी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सदभावना पार्टीबाट चुनाव जितेका उनलाई सांसद रहेकै बेला दिल्लीबाट पक्राउ गरी ल्याइएको थियो ।२०६९ वैशाख १८ मा मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नालाई लक्षित गरी बम विस्फोट गराउँदा मैथिली नाट्य क्षेत्रकी लोकप्रिय कलाकार रञ्जु झासहित ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।साभार : नेपाल प्रेस

Comment here