समाज

जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न वातावरणको संरक्षण आवश्यक : नगर प्रमुख साह

राहुल कुमार सिंह, जनकपुरधाम ।  विश्व वातावरण दिवस, जनकपुरसहित देशभर विभिन्न कार्यक्रम गरी आईतवार मनाईएको छ । दिवसको अवसरमा एनएमबी बैंक जनकपुर शाखाले वृक्षारोपण कार्यक्रम गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यमा भएको सो वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका बोटहरु जनकपुरधाम उपमहानगरपालिकाको मावि कुवारामपुरमा लगाईएको छ । कार्यक्रममा नगर प्रमुख साहले जलवायु परिवर्तनका असरहरूलाई न्यूनिकरण गर्न वातावरणको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन । उनले वातावरणीय प्रदूषण, फोहोरमैलाको उचित व्यवस्थापन, जैविक विविधताको संरक्षणका लागि जनकपुरधाम उपमहानगरपालिका लागि परेको उल्लेख गरेका छन । समग्र विश्व नै ठूलो वातावरणीय सङ्कटबाट गुज्रिरहेको बताउँदै उनले वातावरणको संरक्षणमा जोड दिनुपर्ने बताए । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइने गरिन्छ । ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो वर्ष विश्व वातावरण दिवस मनाईएको हो । नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन ः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाईएको हो ।

Comment here