साउन २६ गते जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव नै रहेको गुठी संस्थानका जनकपुरधाम प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिनुभएको छ । रामरोशन दासलाई २०७८ सालमै गुठी संस्थानको सञ्चालक समितिको बैठकबाट निर्णय गरेर उत्तराधिकारी महन्थमा नियुक्त गरिएको कार्यालय प्रमुख रेग्मीले जानकारी दिनुभयो । गुठी संस्थानको सञ्चालक समितिको २०७८ वैशाख १५ गते बसेको बैठकबाट पुजारी लगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ को दफा १० को उपदफा २ मा उत्तराधिकारी महन्थको रुपमा उहाँलाई तोकिएको हो र सोही निर्देशिकाको दफा ८ बमोजिम योग्य भएको देखिएकाले उक्त निर्देशिकाको दफा १० को उपदफा १ र २ अनुसार रामरोशनलाई उत्तराधिकारी महन्थमा नियुक्त गरिएको गुठी संस्थानको पत्रमा उल्लेख छ । मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार प्रमुख महन्थलाई मात्रै हुन्छ भन्दै कार्यालय प्रमुख रेग्मीले उत्तराधिकारी महन्थले आर्थिक हिनामिना गर्नसक्ने कुनै सम्भावना नै नरहेको बताउनुभयो । केही दिनअघि जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन दासको परिचय पत्र फर्जी रहेको र मन्दिरमा अनियमितता गर्दै आएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि गुठी संस्थानले उत्तराधिकारीको विषयमा स्पष्ट पारेको हो । उत्तराधिकारी महन्थ दासको विषयमा रामनारायण दासले उजुरी दिएका थिए । सो उजुरीबारे गुठी संस्थान जनकपुरधामका प्रमुख वैकुण्ठ रेग्मीले गुठी संस्थानले नै रामरोशन दासलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थमा नियुक्त गरेको स्पष्ट पार्नुभएको छ । उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णबले आफुलाई गुठी संस्थानले जानकी मन्दिरका उत्तराधिकारी महन्थका रुपमा आधिकारीक पत्र दिएको र अहिलेका महन्थ रामतपेश्वर दास बैष्णबले पनि गुरु शिष्य परम्परा अनुसार आफुलाई नै उत्तराधिकारी बनाएको सार्वजनिक रुपमा बक्तव्य समेत दिएकाले केहि पक्षले आफ्नो अनुकुलताका लागि मात्र भ्रम फैलाईरहेको उहाँको भनाई छ । यता, जानकी मंदिरकै परिषरमा रहेको लक्षणम मंदिरको महन्थ अन्य व्यक्ति रहेकाले त्यसमा समेत आफुलाई बदनाम गर्ने कुरा निराधार रहेको बताउदै उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णबले अहिले सम्म जानकी मंदिरको सबै आर्थिक काम र लेखा जोखा वर्तमान महन्थ रामतपेश्वर दास बैष्णले नै गरिरहेकाले आफु कसरी अनियमितता गरे त्यो प्रति प्रश्न गर्नुभयो ।


Comment here