बटुकनाथ झा जनकपुरधाम, भदौ १४ ।
मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । मंगलबार जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि दुवै पार्टीबीच चुनावी तालमेल गरिएको हो । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले मधेस विद्रोहका मुद्दालाई सही दिशामा अग्रसर गर्दै संस्थागत गर्न तथा विकासको पारदर्शी स्पष्ट रणनीतिका साथ मधेस र देशलाई संघीयताको अभ्यासमा अघि बढाउन आन्दोलनकारी लोकतान्त्रिक शक्तिहरूबीच एकवद्ध सहकार्य गरिएको बताउनु भयो । उहाँले एकजुटताको विकल्प नरहेको ठहरमा पुगेपछि दुबै राजनीतिक दलले तराई मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टी सम्मिलित लोकतान्त्रिक मधेशी फ्रन्ट गठन गर्ने निर्णय गरेको जानकारी दिनु भयो । लोकतान्त्रिक मधेशी फ्रन्टको नीति तथा कार्यक्रम तयार गर्न, आवश्यक निर्णय र संचालन गर्न परिचालन समितिसमेत गठन गरिएको छ । समितिमा तमलोपाको तर्फबाट वरिष्ठ नेता डा. विजय कुमार सिंह, केन्द्रीय सदस्यद्वय रविशंकर कुमार कर्ण र बिभा ठाकुर तथा नेपाल सद्भावना पार्टीको तर्फबाट बरिष्ठ नेता राजेन्द्र प्रसाद सिंह कुशवाहा, सह–महासचिव डा. रविन्द्र कुमार चौधरी (राजेश) र राष्ट्रिय सल्लाहकार समिति सदस्य बालकेश्वर ठाकुरलगायतका नेताहरू रहेका छन् ।
लोकतान्त्रिक मधेशी फ्रन्टले मधेस आन्दोलनका मुद्दाप्रति प्रतिवद्ध सबै लोकतान्त्रिक शक्तिहरूलाई एकजुटता अभियानमा सहभागिताका लागि आह्वान गर्ने नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले बताउनु भयो ।पत्रकार सम्मेलनमा बोल्दै तमलोपाका अध्यक्ष लालले वर्तमान गठबन्धन सिद्धान्त र कार्यक्रमको आधारमा नरहेको आरोप लगाउँदै कांग्रेस, माओवादी, जसपा, समाजवादी सबै पार्टीहरू आ–आफ्नो सिद्धान्तलाई तिलाञ्जली दिएकोसमेत बताउनु भयो ।
तमलोपा र नेपाल सद्भावना पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति


Comment here