जनकपुरधाम चैत ३ गते ।सिरहाको धनगढीमाई नगरपालिकाका किसानहरुका घरमा नै अब तरकारीका व्यापारीहरु तरकारी किन्न आउने भएका छन् । उनिहरुले उत्पादन गरेको हरियो तरकारी बिक्रि गर्ने समस्या अब रहेन । धनगढीमाई नगरपालिकाको आर्थिक सहयोग तथा ग्रामिण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि)का जनकपुर कोरिडोर कार्यालयको आयोजनामा शुक्रबार सामुहिक हरियो तरकारी बजारीकरण कार्यक्रम सुरु भएको छ । सामुहिक बजारीकरणका अध्यक्ष गणेश कुमार सिँहको अध्यक्षता तथा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोको प्रमुख आतिथ्यमा सामुहिक बाजारीकरण कार्यक्रमको उद्घाटन गरिएको छ । अब सो स्थानका तरकारी किसानहरुले उत्पादन गरेको हरियो तरकारी बेच्न समस्या हुदैन । तरकारी व्यापारी सामान किन्न उनिहरुले संचालन गरेको ठाउँबाट नै तरकारी किन्न आउने भएकाले आफुहरु खुशी भएको तरकारी कृषक रेखा कुमारी महतोले बताउनु भयो । सो पालिकाका वडा नं. ६ र ७ का किसानहरुले संचालन गरेको जनकल्याण तरकारी उत्पादक कृषक समुह, फुलकाहाकट्टी कृषक समुह, ऋतु कृषक समुह तथा शिवशक्ति तरकारी उत्पादक कृषक समुह संग आवद्ध करिब सय जना तरकारी किसानले सामुहिक रुपमा हरियो तरकारी सामुहिक बजारीकरण मार्फत आफ्ना उत्पादन बेच्ने समृद्धि आयोजनाका आपुर्ति श्रृंखला सुपरिवेक्षक विष्णुदेव झाले बताउनु भयो । शुक्रबार मेयर महतोले उद्घाटन गर्नुभएको सो बजारीकरणको पहिलो दिन नै करिब २० हजारको तरकारी एकै ठाउँबाट बिक्री भएको उहाँले बताउनु भयो । धनगढीमाई नगरपालिकले सो बजारीकरणको उद्घाटन भएकै दिन करिब २ लाखब बराबरका सामानहरु सहयोग गरेका छन् । मेयर महतोले पालिकाको आर्थिक सहयोगमा तत्काल २ लाखबाट डिजिटल तराजु, त्रिपाल तरकारी राख्ने क्यारेट लगायतका सामानहरु सहयोग गरेपनि अगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि)का जनकपुर कोरिडोर कार्यालयको आयोजनामा सुरु भएको उक्त बजारीकरणले तरकारी कृषकहरुको आर्थिक विकासमा टेवा पुग्ने विस्वास लिइएको छ । तरकारी आपुर्ति श्रंखला सम्बन्धी व्यापारी, सेवा प्रदायक र किसान बिच दिगो बजार विस्तारको लागि विगतमा अन्तरक्रिया समेत गरिएको थियो । तरकारी उत्पादन बृद्धि गर्न सेवा प्रदायक र उत्पादक बिचको सम्बन्धलाई सहजीकरण गर्ने तरकारी व्यवसायीको लागिसम्बन्धित आपुर्ति श्रृंखलाको दृष्टिकोण अभिबृद्धि गर्न सहयोग गर्ने गरेको समृद्धि आयोजनाका आपुर्ति श्रृंखला सुपरिवेक्षक विष्णुदेव झाले बताउनु भयो । डेढ सय जना तरकारी किसानहरुको उपसिथतीमा सुरु भएको सो हरियो तरकारी सामुहिक बजारीकरण कार्यक्रममा धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले,लेखा अधिकृत पुरुषोत्तम प्रसाद साह,वडा नं. ७ का वडाध्यक्ष भगलु महतो, वडा नं. ८ का वडाध्यक्ष रामभरोश महतो लगायतको विशेष उपस्थिती रहेको थियो ।




Comment here