समाज

धनुषा काँग्रेसमा नेतृत्वका दावेदारहरु

जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिए संगै जिल्ला सभापतिका आकांक्षीहरु पनि अगाडी आउन थालेका छन् । उपसभापति बिमलेन्द्र नीधिको गृह जिल्ला धनुषामा पनि उम्मेदवार छनोट चर्चामा छ । आकांक्षी धेरै भएपनि निधिको आशिर्वाद प्राप्त गर्न सफल भए मात्र सभापति बन्न सक्ने संभावना बलियो रहन्छ । धनुषाका वर्तमान सभापति महेश शंकर गिरि नै निधिको पहिलो रोजाईमा पर्ने गिरि निकट एक जिल्ला सदस्यको भनाई छ । सर्वसम्मतिबाट सभापति चयन हुने हो भने वर्तमान सभापति गिरि नै हुने उनले ठोकुवा गरे । जिल्ला नेतृत्वको लागि निधि समुहबाटै योगेन्द्र पंजियार , प्रफुल्ल राज धिमिरे, राज किशोर सिंह, किशोरी साह, प्रदिप यादव , कुवँर कान्त झा अगाडी आएका छन् । त्यसैगरि जिल्ला उपसभापति संतोष यादवले पनि सभापतिमा उम्मेदवार दिने चर्चा छ । यादव केन्दमा पौडेल समुहमा रहेपनि धनुषामा निधि गुटमा नै रहेको भन्छन । त्यसैगरि निधि इतर पक्षबाट दिनेश प्रसैला, विशेश्वर प्रसाद यादवको पनि उम्मेदवारीको चर्चा छ । निर्धारित समय भन्दा ३ वर्ष ढिलो भएको अधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका वर्तमान सभापति गिरिको एक पटक दोहोरिने चाहना प्रबल छ । गिरि निधिको विश्वास पात्र मानिन्छन । निधि समुहका अर्का आकांक्षी योगेन्द्र पंजियारले आफ्नो उम्मेदवारी सुनिश्चित बताउँछन् । क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख समेत रहेका पंजियार सभापति पदका बलिया उम्मेदवार मानिन्छन । त्यसैगरि करिब चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहेका प्रभावशाली नेता प्रफुल्ल राज धिमिरेले पनि यस पटक सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन । घिमिरेलाई पत्रकारिता जगतमा पनि प्रभावशालि व्यक्तित्वको रुपमा लिइन्छ । धनुषामा राम्रो पहिचान बनाएका कारण एक ढिक्का भएर उम्मेदवारी दिए घिमिरेले चुनाव सहजै जित्ने कांग्रेस कार्यकर्ताले बताएका छन । त्यसैगरि निधि गुटका राज किशोर सिंहले पनि नेतृत्वको चाहना व्यक्त गरेका छन । धनुषा जिल्ला कार्यसमितिमा रहि सचिवको जिम्मेवारी निर्वाह गरि सकेका सिंहले पनि मौका पाउनुपर्ने कांग्रेस कार्यकर्ताहरुको धारणा छ । त्यसैगरि निधि निकट मानिने किशोरी साह, प्रदिप यादव, कुवँर कान्त झाले पनि सभापतिमा इच्छा व्यक्त गरेका छन । यता निधि इतर समुहबाट पुर्व सांसद दिनेश प्रसैलाको दावेदारी छ । सभापतिका लागि आकांक्षा व्यक्त गरेका प्रसैला धनुषाका सक्रिय तथा लोकप्रिय नेता हुन । वर्तमान जिल्ला सचिव विशेश्वर प्रसाद यादव पनि नेतृत्वको आकांक्षी हुन। नेपाली कांग्रेसमा राम्रो छवि बनाएका यादवले उम्मेदवारी दिए जिल्लाको समिकरण नै फेरिने कांग्रेसी कार्यकर्ताको बुझाई छ । महाधिवेशनको तालिका अनुसार असोज १० गते जिल्लाको अधिवेशन छ ।

Comment here