बटुकनाथ झा
भदौँ ३१ गते जनकपुरधाम ।
धनुषा प्रहरीले कर्तव्य ज्यानका पाँच जना अभियुक्तलाई शुक्रबार सार्वजनिक गरेको छ । बिहिबार राति आफ्नै आमाको हत्याको अभियोगमा एक्जनालाई, महिलाको हत्या गरेको आरोपमा ३ जना र एक जना फरार प्रतिवादीलाई इन्टरपोल मार्फत मलेसियाबाट पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको धनुषाका प्रहरी उपरिक्षक बस्न्त रजौरेले जानकारी दिए । भदौ २८ गते मंगलबार बिहान करिब ६ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर–३ यदुकुहाको हटियाबजार नजिक रहेको बाँस घारीमा सोही ठाउँ बस्ने अरुण कुमार दासको २८ वर्षीय पत्नी बबितिया देवी मृत अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल खटिएको अनुसन्धान टोलीले विभिन्न व्यक्तिहरूसँग सोधपुछ तथा प्राविधिक विश्लेषण गर्दा मृतककै जेठाजु वीरेन्द्र दासले आफ्नो भाइ बुहारी बबितिया देवीसँगको अनैतिक सम्बन्धका कारण उनको हत्या गरेको कुरा पत्ता लागेको प्रहरी उपरीक्षक रजौरेले बताए। आफूहरूबिचको अनैतिक सम्बन्ध बिस्तारै भाइ तथा गाउँ समाजका मानिसहरूले थाहा पाउँछ कि भन्ने डर र बबितियको व्यवहार पनि परिवर्तन हुँदै गएकोले उनलाई मार्ने योजना बनाई भदौ २७ गते आफ्नो सालो शत्रुधन दास र काका नाता पर्ने उमेश दाससँग मिलेर बबितिया देवी सुतिरहेको अवस्थामा तिनै जना कोठाभित्र प्रवेश गरी शत्रोधन दासले खुट्टा तथा उमेश दासले हात समाती रहँदा वीरेन्द्र दासले डोरीले घाँटी कसेर हत्या गरेको कुरा प्रहरीलाई अनुसन्धानको क्रममा पत्ता लागेको थियो ।
सो घटनामा संलग्न रहेका धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर–३ बस्ने मृतकको जेठाजु २४ वर्षीय वीरेन्द्र दास, सोही ठाउँ बस्ने मृतकको जेठाजुको आफ्नै काका १९ वर्षीय उमेश दास र वडा नम्बर–७ धवौली बस्ने मृतकको जेठाजुका १९ वर्षीय सालो शत्रुधन दासलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । त्यस्तै आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार राति करिब १ बजेको समयमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–५ मखनाहा बस्ने रामसेवक खत्वे मण्डलको ४० वर्षीया पत्नी सिकिलिया देवी मण्डल आफ्नो घरको छतमा मृत अवस्थामा फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल अनुसन्धानका लागि खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा मृतकको २५ वर्षीय छोरा मनोज मण्डलले मादक पदार्थ सेवन गरी कुटपिट गरेर आमाको हत्या गरेको कुरा पत्ता लागेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए । यता, कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने २३ वर्षीय राजीव कुमार मण्डल रहेका छन् । २०७८ भदौ २६ गते बिहान २ बजेको समयमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने रामअशिष मण्डलका छोरा सरोज कुमार मण्डललाई ज्यान मार्ने उद्देश्यले मनिष कुमार मण्डल र राजीव कुमार मण्डलले धारिलो हतियारले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
सरोज उपचारको क्रममा रहेको बेला विपक्षीहरू उपर धनुषा जिल्ला अदालतमा फौजदारी नं.०७८–सिआई ०१४३ को ज्यान मार्ने उद्योग मुद्दा चलिरहेको थियो । उक्त मुद्दा जिल्ला अदालतबाट २०७८ पुस १९ गते फैसला भएकोमा मुख्य प्रतिवादी राजीव मण्डलले घाइते सरोज मण्डलको उपचार खर्च ४ लाख ९२ हजार २५९, अनिल मण्डलको उपचार खर्च ६९ हजार ३०० र बजरंग प्रसाद राउतको उपचार खर्च ३ हजार १३० रुपैयाँ तिर्ने फैसला भएको थियो ।
ज्यान मार्ने उद्योग मुद्दालाई कुटपिटमा परिणत गरी पक्राउ प्रतिवादीहरू मनिष कुमार मण्डल र राजीव कुमार मण्डल कारागारबाट थुनामुक्त भएका थिए । सरोज उपचारकै क्रममा रहेको अवस्थामा २०७८ चैत २८ गते बिहान ९ बजेको समयमा उनको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो । प्रतिवादीहरू मध्येका राजीव कुमार मण्डल २०७८ फागुन १३ गते वैदेशिक रोजगारीको सिलसिलामा कतार गइसकेका थिए । उनी कतारको स्नेहीया राईट साईड स्टेट नं.४५ क्याम्पको कतार मास्टर कम्पनीमा काम गरिरहेको कुरा धनुषा प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाई उनलाई कतारबाट पक्राउ गरेर ल्याउन नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखालाई पत्राचार गरेको थियो । राजिवलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्नका लागि ‘रेड कर्नर नोटिस’ जारी गरी उनलाई तालुक कार्यालयको समन्वयमा बिहीबार नेपाल ल्याइएको थियो ।
धनुषा प्रहरीले गरे पाँच जना कर्तव्य ज्यानका अभियुक्त सार्वजनिक


Comment here