समाज

धर्मगुरु निश्चलानन्द भन्छन् नेपाल सुरक्षित हुन हिन्दूराष्ट्र आवश्यक

रुपन्देही । रुपन्देहीको भैरहवामा आयोजित हिन्दूवादीको भेलामा धर्मगुरु निश्चलानन्दनले नेपाल सुरक्षित हुन सनातन हिन्दूराष्ट्र आवश्यक रहेको बताएका छन् । धर्मनिरपेक्ष बिना अर्थको शब्द भएको तर्क गरेर उनले भेलामा सहभागीलाई हिन्दूराष्ट्रका लागि दबाब दिन आवश्यक रहेको बताए ।हिन्दुहरुका सर्वोच्च धर्मगुरु मानिएका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपाल यसअघि पनि हिन्दुराष्ट्र रहेको, अहिले पनि हिन्दुराष्ट्र रहेको र भविष्यमा समेत हिन्दुराष्ट्र नै रहने दावी गरेका छन् । उनले नेपालबाट सुरु गरि यो अभियानलाई एशिया महाद्विपसम्म नै पुर्‍याउने बताए ।हिन्दुहरुका सर्वोच्च धर्मगुरु जगन्नाथपुरीस्थित गोबद्र्धन मठका पिठाधीश निश्चलानन्द ३ दिने कार्यक्रम अन्तर्गत भैरहवामा आएका हुन् । विश्व ओमकार एकता महाअभियानको आयोजनामा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सहित धर्मगुरुको भैरहवा भ्रमण गराइको छ । भैरहवामा आयोजित आध्यात्मिक जागरण बिराट एकता धर्म सभामा प्रवचन दिदै शंकराचार्यले हिन्दुराष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुनसक्ने जिकिर गरे । चीनको आँखा नेपालमा रहेको चीनबाट नेपाल असुरक्षित भए यसको असर भारतमा समेत पर्ने उनको भनाइ छ ।उनले हिन्दुराष्ट्रबारे यहाँका कम्युनिस्टहरु पनि राजी भए पनि बाहिरबाट खुलेर लाग्न नसकेको बताए । कम्युनिस्टहरु बाहिरबाट नास्तिक रहेको देखाए पनि भित्रबाट उनिहरु धर्मप्रति आस्तिक नै रहेको शंकराचार्यले बताए । कुनै व्यक्ति वा बस्तु एक क्षणको लागि पनि धर्म निरपेक्ष हुन नसक्ने उनको भनाइ छ । यसर्थ धर्म निरपेक्ष भनेको एक शब्द मात्र भएको र यसको कुनै अर्थ छैन । उनले सबै धर्महरुको मूल धर्म सनातन धर्म नै रहेको हुदा यसको शान्तिपूर्वक प्रचारको लागि सबै लाग्न आग्रह गरे ।नेपालका धर्मगुरु डाक्टर चिन्तामणि योगीले अहिले सबै नेपालीहरुको मूख्य उद्देश्य नेपाललाई हिन्दुराष्ट्र बनाउनु रहेको बताए । उनले यसको लागि विश्व ओमकार महाअभियान नै गठन गरी लागेको उनले बताए । नेपाललाई हिन्दु राष्ट्र कायम गराउने अभियानमा हिन्दु धर्मका सर्वोच्च गुरु शंकराचार्यको पनि चासो रहेको र सोही अनुसार उनको नेपाल आगमन भएको उनले जानकारी दिए ।आदि शंकराचार्यले सनातन धर्मको रक्षा र प्रसार गर्न चार दिशामा चार पीठ स्थापना गरेका थिए । ४ वटा पिठमा ४ जना नै शंकराचार्य छन् । भैरहवा आउने शंकराचार्य गोर्वधन धामका वर्तमान पिठाधिश हुन् ।भारतका चर्चित र सबैभन्दा उच्च तहका हिन्दू धर्मगुरुसहित नेपाली धर्म गुरुले भैरहवामा आयोजित धर्मसभामार्फत् नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियान थालनीको सन्देश दिन खोजेका छन् । धर्मसभामा जगतगुरु शंकराचार्यले विशेष धर्मवचन दिएका छन् ।नेपालका वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोनलगायत सनातन ओमकार परिवारका एक सय जना भन्दा धेरै विभिन्न धर्मगूरु भैरहवा आएका छन् । धर्मसभाबाट कुनै जाति, सम्प्रदाय र राजनीति अभिप्रेरित नभएको आयोजकको दावी छ । विशुद्ध नेपाललाई हिन्दुराष्ट्र बनाउन सभा केन्द्रिय भएको धर्मगुरुहरुले जनाए । सनातन हिन्दूराष्ट्र पुनस्र्थापनासँगै हिन्दू धर्म संस्कृतिभित्र रहेका ओमकार परिवारबीच एकताको अभियान संचालन गर्ने मुख्य उद्देश्य धर्म सभाको रहेको आचार्य किशोर गौतमले बताए ।साभार : नेपाल प्रेस

Comment here