समाज

नयाँ दल दर्तातर्फ अघि बढ्दै ठाकुर–महतो

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो नयाँ दल दर्तातर्फ अघि बढ्दै छन् ।  निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेपछि ठाकुर–महतो नयाँ दल दर्ताका लागि जुटेका हुन् । यादवसँगै पार्टीमा रहन नसक्ने निस्कर्ष निकाल्दै नयाँ पार्टी खोल्ने अभियानमा रहेका उनीहरुले कानुन व्यवसायी लगायतसँग छलफल तीव्र पारेका छन् । नयाँ दल दर्ताका विषयलाई लिएर ठाकुर र महतोले मङ्गलबार र बुधबार आफूनिकट कानुन व्यवसायीसँग छलफल गरेका थिए । नेता ज्ञानेन्द्र झाले भने यसअघि नै लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । ठाकुर र महतोको पुरानो राजपा ब्युझाउँने पक्षमा रहेको स्रोतले बतायो । उपेन्द्र यादवनिकट नेता हरिनारायण यादवले राजपा दर्ताका लागि यसअघि नै निर्वाचन आयोगमा निवेदन दिएका छन्। यादवले आयोगमा निवेदन दिएको दुई दिनपछि मात्र ठाकुरनिकट एक नेताले राजपा दर्ताको लागि आयोगमा निवेदन दिएका थिए। 

राजपा नाम प्राप्त गरेमा ठाकुर–महतो नयाँ दल दर्ताको प्रक्रियामा अघि बढ्ने स्रोतले बतायो । नामको सम्भावनाका विषयमा उनीहरुले कानुनी व्यवसायीसँग परामर्श लिएका छन् । ‘पुरानो राजपा ब्युँताउने प्रयास हुने छ,’ ठाकुर निकट एक नेताले भने, ‘यदि त्यो सम्भव भएन भने लोकतान्त्रिक समाजवादी पार्टी नाम राखेर नयाँ दल दर्ताको सम्भावना छ ।’ पार्टीभित्रको लामो समयको विवादपछि निर्वाचन आयोगले भने उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेको हो । त्यसपछि ठाकुर र महतोले नयाँ पार्टी खोल्ने प्रक्रिया अघि बढाएको स्रोतले बतायो । 

साभार : कोसी अनलाइन

Comment here