काठमाडौं । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् ।महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले हिन्दू राष्ट्रका लागि चितवनबाटै आन्दोलन सुरु गर्नुपर्ने बताउनुभयो । “हरेराम हरेकृष्ण भजनबाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ” उहाँले भन्नुभयो, “यो आन्दोलन चितवनबाट सुरु गरेर मेची–महाकाली हल्लाउनुपर्छ ।” मुलुकलाई हिन्दू राज्य बनाउन अब सशक्त आन्दोलन गर्नुपर्ने भन्दै अध्यक्ष अधिकारीले सबै ओमकार परिवारलाई एक बनाएर धार्मिक एकता र पहिचानका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।महासङ्घमा विवाद नभएको र केन्द्रीय समिति एउटै बनेको छ तर महासङ्घको अन्तर्राष्ट्रिय समितिमा देखिएको विवाद समाधानको बाटोमा अगाडि बढिसकेको बताए ।महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुुभयो । “दलहरुको स्वार्थका लागि हिन्दू राज्यबाट नेपाललाई हटाइयो”, उनले भने, “हाम्रो एकता मजबुत छ, हाम्रो एकतालाई कसैले भाँड्न खोज्छ भने त्यो सैह्य हुँदैन ।” वैदिक सनातन धर्मभित्र सबै धर्मलाई समान व्यवहार हुने भएकाले पनि नेपाल हिन्दू राज्य हुनुपर्नेमा महासचिव न्यौपानेले जोड दिए ।महासङ्घका सचिव नेत्रनाथ पौडेलले सबै ओमकार परिवारका सदस्य मिलेर नेपाललाई हिन्दू राष्ट्र बनाउन पहल गर्नुपर्ने बताउनुभयो । सबै ओमकार परिवारका सदस्यको पहलमा नेपाललाई हिन्दू राज्य बनाउन सकिने उनले बताए ।साभार : विकास टाइम्स


Comment here