समाज

प्रचण्डलाई भेट्न देउवा पुगे खुमलटार

काठमाडौं । सत्तारुढ घटकमध्येको दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नका लागि आज (बुधबार) बिहान प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेका छन् । स्रोतका अनुसार एमसिसीका बारेमा छलफल गर्नका लागि प्रचण्डलाई भेट्न देउवा खुमलटार पुगेका हुन् । सरकार एमसिसी पास गर्ने तयारीमा छ । प्रचण्ड निवास पुगेका देउवाले उनीसँगको भेटमा एमसिसी र सत्ता गठबन्धनका बारेमा छलफल गर्ने बताइएको छ । एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले दोहोरो चरित्र देखाइरहेका छन् । संसदबाट एमसिसी पास गर्न नदिने रणनीतिमा माओवादी र समाजवादी लागेका छन् । तर सत्ता गठबन्धन दल भएकाले माओवादी र समाजवादीलाई मनाउन देउवाले पहिलो प्राथमिकता दिएका छन् । केही समययता देउवा दुवै दललाई मनाउन सक्रिय भएर लागेका छन् । देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँगको भेटघाट र छलफललाई पनि तीव्र पारेका छन् । एमसिसीका विषयमा माओवादी र समाजवादी दोहोरो चरित्रमा देखिएपछि उनले प्रतिपक्षी दलसँग पनि छलफल अघि बढाएका हुन् । देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमसिसीका विषयलाई लिएर मङ्गलबार भेटवार्ता भएको थियो। साभार : कोसी अनलाइन


Comment here