समाज

प्रदेश सरकार सुस्त भएको लोसपाको आरोप

धनुषा । मधेस प्रदेशको प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदहरूले सरकारका काम–कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । सरकारले गठन गरेको समिति, आयोग, बोर्डका पदाधिकारी काम नपाएर राजीनामा गर्ने मनस्थितिमा पुगेको र सरकारकै कारण निर्वाचन क्षेत्र विकास कार्यक्रम सुरु हुन नसकेको विपक्षी दलको आरोप छ ।प्रदेश सभाको आइतबार बसेको बैठकमा लोसपा संसदीय दलका सचेतक परमेश्वर साहले सरकारले गठन गरेको समिति र आयोगको काम कागजमा मात्र सीमित भएको आरोप लगाए । प्रदेश सरकारले छानबिन र समस्या समाधानका लागि पटक–पटक समिति गठन गरे पनि प्रतिवेदन सार्वजनिक नगरेकोमा साहले आपत्ति जनाए ।‘प्रदेशको नामका लागि बनेको समितिको प्रतिवेदन खोइ ?,’ साहले भने, ‘समिति गठन गर्ने । तर, छानबिन नगर्ने । प्रतिवेदन सार्वजनिक नगर्ने । यस्तै अवस्था रह्यो भने हामी चुप रहँदैनौं । प्रदेशसभा अवरुद्ध गर्छौं ।’ सचेतक साहले प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोग, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतको बोर्ड कामविहीन बनाएर प्रदेश सरकारले आर्थिक भार मात्रै बढाएको बताए ।लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षलाई दिनुपर्ने संसदीय व्यवस्थाअनुरूप आफूहरूलाई दिन उनले माग गरे । बेमौसमी वर्षाले किसानको गहुँ बाली र इँटा उद्योगमा क्षति भएकाले सरकाले तत्काल राहत उपलब्ध गराउनुपर्ने उनले माग गरे । लोसपाकी प्रदेश सांसद रानी शर्मा तिवारीले सात महिना बित्नै लाग्दा चालु आवको निर्वाचन क्षेत्र विकास कार्यक्रम प्रदेश सरकारले सुरु गर्न नसकेकोमा आपत्ति जनाइन् । ‘सरकारकै कारण असारमा हतारहतार विकास निर्माणको काम हुने गरेको छ,’ उनले भनिन् । सांसद शर्माले सरकारको सुस्त गतीले प्रदेश विकासको कामसमेत सुस्त भएको बताइन् ।नेकपा (एकीकृत समाजवादी) की प्रदेश सांसद मञ्जु यादवले प्रदेशसभाको विषयगत संसदीय समितिमा संघीयताको मर्मअनुसार सभापतिमा महिलालाई समेत नेतृत्व दिनुपर्ने बताइन् ।किसानको समस्या बुझ्न उच्चस्तरीय समिति गठन गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिँदै सांसद यादवले किसान आन्दोलनको नाममा वितण्डा मच्चाउनेको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् । नेकपा एमालेका प्रदेश सांसद किशोरी साहले हावाहुरीले रूख भाँचिएर धनुषामा मृत्यु भएका बालबालिकाको परिवारलाई राहत दिन माग गरे ।साभार : कान्तिपुर

Comment here