समाज

प्रदेश १ मा आत्महत्याको अवस्था भयावह, न्यूनीकरणका लागि विशेष अभियान चलाइँदै

विराटनगर । झापाको कनचकवल गाउँपालिका–५ मा आइतबार तीन जना किशोरीको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला पर्यो । कचनकवल–५ की १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेश सुनकोसी चिया बगाननजिकको बयरको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । तीनै जना एकआपसमा मिल्ने साथीसाथी हुन् । शनिबार दिउँसो घरबाट निस्किएका उनीहरुको शव एउटै रुखमा झुन्डिएको अवस्थामा भोलिपल्ट फेला परेपछि घटनलाई शङ्कास्पद मानेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनाका कारण गाउँ नै शोकमा डुबेको छ । झिङ खोलाको डिलमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा उनीहरु भेटिए पनि आत्महत्या हो कि हैन भन्ने बारेमा खुल्न बाँकी रहेको झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ । सबैलाई चिन्तित तुल्याएको झापाको यो घटना त छँदैछ । प्रदेश १ मै पछिल्लो समय आत्महत्याका घटना बढेर गएको छ । आत्महत्याको अवस्था भयावह बनेर गएको प्रहरीको तथ्याङ्कबाट पुष्टि हुन्छ । १४ जिल्ला रहेको प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा मात्रै आत्महत्यासँग सम्बन्धित एक हजार चार सय ८९ वटा मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार एक वर्षको अवधिमा विभिन्न अपराधसँग सम्बन्धित आठ हजार ५५ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीले आत्महत्या, जबरजस्ती करणी, करणी उद्योग, लागुऔषध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण तथा शरीर बन्धक, ठगी, अभद्र व्यवहार, सरकारी छाप तथा दस्तखत किर्ते लगायतका विभिन्न शीर्षकमा मुद्दा दर्ता गरेको हो । दर्ता भएकामध्ये आत्महत्यासँग जोडिएका मुद्दा मात्रै १८.४८ प्रतिशत रहेको राई बताए । ‘अन्य घटनासँग सम्बन्धित मुद्दाको तुलनामा आत्महत्यासँग जोडिएका मुद्दा सबैभन्दा धेरै छन्,’ उनले भने, ‘आत्महत्याको मात्रै एक हजार चार सय ८९ वटा घटना भएको तथ्याङ्क छ ।’ उनका अनुसार झुन्डिएर, विषादी सेवन गरेर, हामफालेर, आफैँलाई औजार प्रहार गरेर र आगो लगाएर व्यक्तिले आत्महत्या गरेको पाइन्छ । 

आत्महत्यापछि सबैभन्दा धेरै मुद्दा लागुऔषधसँग सम्बन्धित छन् । प्रदेशभरि एक वर्षको अवधिमा लागुऔषध ऐनअन्तर्गतका सात सय ८८ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । लागुऔषधसँग सम्बन्धित मुद्दामा एक हजार एक सय ४२ जनालाई प्रतिवादी बनाइएको छ । 

प्रदेश १ प्रहरी प्रमुख डिआइजी सुदीप गिरीका अनुसार प्रदेशमा पछिल्लो समय घटेका घटनालाई विश्लेषण गर्दा आत्महत्या अत्यधिक धेरै रहेको पाइयो । ‘आफ्नो अमूल्य जीवन आफैँले समाप्त पार्ने घटना बढेर गएको छ । आत्महत्या विकराल समस्याका रूपमा देखा पर्यो,’ उनले भने, ‘नियन्त्रणमा निक्कै चुनौतीपूर्ण हुने यस्ता घटनाले समाजलाई झस्काएको छ । सबैलाई चिन्तित तुल्याएको छ ।’ आत्महत्या बढ्दै गएको विषयलाई लिएर प्रदेश सरकारले पनि चासो व्यक्त गरेको उनको भनाइ छ । ‘न्यूनीकरणका लागि सरकारसँग समन्वय गर्दै अघि बढ्ने योजना बनाइएको छ । आत्महत्याविरुद्ध जागरण ल्याउने र समाजलाई सचेत गराउने कार्यक्रम तत्काल सञ्चालन गरिने छ,’ डिआइजी गिरीले भने, ‘समुदाय–प्रहरी साझेदारी लगायतमार्फत जनचेतनामूलक कार्यक्रम गर्ने तयारी छ । प्रहरीका अन्य काम कारबाही र गतिविधिलाई पनि आत्महत्याविरुद्धको अभियानमा जोडेर लग्ने योजना बनाएका छौँ ।’ प्रदेश सरकार र मनोपरामर्शकर्तासँग समन्वय गरेर जतिसक्दो चाँडो कार्यक्रम सुरु गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार आत्महत्या रोक्न र नियन्त्रण गर्न अब ढिला गर्न हुँदैन भन्ने निस्कर्ष निकालिएको छ । ‘आत्महत्या गरेर मान्छेले सुन्दर जीवन अनाहाकमा खेल फ्यालिरहँदा समाज कुन बाटोतर्फ उन्मुख हुँदैछ भन्ने चिन्ताको विषय बनेको छ,’ गिरीले भने, ‘सुन्दर जीवन सदुपयोग गरौँ र खेर नफालौँ भनेर जनचेतना जगाउनुपर्ने अवस्था आएको छ ।’ कल्पनाभन्दा बाहिरको आत्महत्याको डरलाग्दो अवस्थालाई जतिसक्दो चाँडो नियन्त्रण गर्न सबै पक्षको सहयोग प्रहरीलाई आवश्यक पर्ने उनले बताए । प्रदेशमा सबैभन्दा धेरै आत्महत्याका घटना झापा र मोरङमा भएका छन् । झापा र मोरङमा समान तीन सय १४ वटा आत्महत्याका घटना भएको प्रहरीले जनाएको छ । एक वर्षभित्रमा सुनसरीमा दुई सय १२, इलाममा एक सय २८, उदयपुरमा ९४, खोटाङमा ६७, पाँचथरमा ५७, ओखलढुङ्गामा ५४, भोजपुरमा ५१, धनकुटामा ४९, सोलुखुम्बुमा ४७, सङ्खुवासभामा ४४, ताप्लेजुङमा ३५ र तेह्रथुममा २३ वटा आत्महत्याका घटना भएका छन् । 

प्रदेश प्रहरी प्रमुख गिरीले मान्छे डिप्रेशनमा गएपछि आत्महत्याको बाटो रोज्ने गरेको बताए । यस्तो घटना रोक्न घरपरिवार र साथीभाइको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । समस्याको समाधान आत्महत्या हैनभन्ने कुरा सबैमा बुझाउन सकियो भने न्यूनीकरणमा मद्धत पुग्ने डिआइजी गिरीले बताए । असफलता, पारिवारिक सम्बन्धमा खटपट, गरिबी, बेरोजगारी, माया ममताको सङ्कट, विभिन्न लाञ्छना, आत्मसम्मानमा ठेस पुगेको महसुस लगायतले सोच्नसक्ने क्षमता कमजोर हुँदै गएर फस्ट्रेसन र डिप्रेशनमा जाँदा मानिस आफ्नो जीवन समाप्त गर्न आफैँ अग्रसर हुने गरेको उनको भनाइ छ । समाजशास्त्री डिल्ली प्रसाईं सामान्य अवस्था र परिस्थितिसँग जुध्न नसक्दा पनि पछिल्लो समय मान्छेले आत्महत्याको बाटो रोज्ने गरेको बताउँछन् । ‘आत्महत्या एकदमै विकराल बनेर गएको छ । बेलैदेखि न्यूनीकरणमा ध्यान नदिए अवस्था थप जटिल बन्नसक्छ,’ उनले भने, ‘सामाजिक तथा पारिवारिक नियन्त्रण प्रणाली गुम्दै जानु यसको मुख्य कारण हो । मान्छे आफ्नो जीवन आफैँ समाप्त पार्ने चरणमा पुग्नुलाई सामान्य मान्न सकिँदैन ।’सकारात्मक सोचको विकास गराएर व्यक्तिको सोच्नसक्ने क्षमतालाई मजवुत बनाउँदै आर्थिक, पारिवारिक, सामाजिक र मनोवैज्ञानिकलगायतका विचलनसँग सङ्घर्ष गर्नसक्ने अवस्थामा पुर्याउन सकियो भने मान्छेले आत्महत्याको बाटो नरोज्ने प्रसाईंको भनाइ छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग, सूचनाको पहुँच विस्तार पनि आत्महत्याको कारक रहेको उनले बताए । 

‘व्यक्तिले जीवनसँग हार नखान उसको मनोवल दह्रो बनाउनुपर्छ । सकारात्मक रोचको विकास गराउनुपर्छ,’ प्रसाईंले भने, ‘जीवनको महत्व बुझाउने प्रयत्न गरिनुपर्छ । सोच्नसक्ने क्षमता मजवुत बनाउनेतर्फ ध्यान दिनुपर्छ ।’ समस्यासँग जुध्न नसकेर डिप्रेशनको अवस्थामा पुग्ने व्यक्तिले आत्महत्या गर्ने भएकाले त्यस्ताको पहिचान र उपचारमा विशेष ध्यान दिनुपर्ने उनले बताए । 

कोसी अस्पताल विराटनगरका मनोचिकित्सक डा. प्रभात चालिसे आत्महत्याका धेरै कारणहरु रहेको बताउँछन् । ‘पारिवारिक तथा सामाजिक वातावरण, साथीभाइसँगको गलत सङ्गत, मदिरा तथा लागुऔषधको कुलतदेखि मनोसामाजिक समस्या आत्महत्याका कारण हुन्,’ उनले भने, ‘मनोरोगको पहिचान र उपचारको अभावले डिप्रेशनमा गएर जीवनका बारेमा केही सोच्न नसक्दा मान्छेले आत्महत्याको बाटो अपनाउने गरेको पाइन्छ ।’ तर बेलैदेखि परिवार, साथीभाइसमेतले व्यक्तिको समस्या पहिचान र उपचारमा ध्यान दिएमा आत्महत्यालाई ९० प्रतिशतसम्म कम गरेर लैजान सकिने डा. चालिसे बताउँछन् । उनका अनुसार जनशक्ति र स्रोतको उचित व्यवस्थापन गर्दै व्यक्तिको समस्याको पहिचान, मनोपरामर्शकर्ताबाट काउन्सिलिङ, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सकारात्मक सोचको विकासले मानिस आत्महत्याबाट पछि हट्छ ।

डा. चालिसे भन्छन्, ‘खानपिनमा ध्यान दिँदै स्वास्थ्य जीवन शैली अपनाउन मान्छेलाई उत्प्रेरित गर्नुपर्छ । सामाजिक जीवनलाई सुन्दर बनाउनतर्फ लाग्नुपर्छ । सकारात्मक रोचको विकास गराउँदै नकारात्मक धारणा हटाउनेतर्फ ध्यान दिनुपर्छ । आफ्नो र परिवार तथा साथीभाइका लागि समय निकाल्नुपर्छ ।’ आत्महत्या गर्ने चरणमा पुगेको व्यक्तिले अरु बेलाको भन्दा फरक व्यवहार देखाउने र उसमा डिप्रेशनको लक्षण देखिने हुँदा परिवार तथा साथीभाइले बेलैमा ध्यान दिएर उपचार एवम् मनोपरामर्शका लागि लगिहाल्नुपर्ने उनको भनाइ छ ।

साभार : कोसी अनलाइन


Comment here