समाज

प्रदेश २ सरकारमा सहभागी भयो नेकपा एस, २ मन्त्रीले लिए शपथ

जनकपुरधाम । प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एस पनि सहभागी भएको छ । आज नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादव मन्त्रीको शपथ लिएका हुन् ।महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । आइतवार विहान मधेस भवनमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराए ।नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एसको प्रदेशसभामा १३ सांसद छन् । यसअघि नै नेकपा एसलाई सरकारमा ल्याउने प्रयास भएको थियो । तर मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा नेकपा एस सरकारमा गएको थिएन । सहमति जुटाउन नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट्न मुख्यमन्त्री लालबाबु राउत काठमाडौं नै पुगेका थिए ।काठमाडौंमा भएको सहमति अनुसार नेकपा एसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री राउतले मन्त्री रामनरेश रायलाई पदबाट हटाएका थिए । तत्कालीन राजपाको कोटाबाट मन्त्री बनेका राय जसपा फुटेर लोसपा बने पनि पद जोगाउनकै लागि उनी जसपामै बसेको चर्चा थियो । तर अन्ततः उनले पद गुमाउनु परेको छ ।जसपाले नेतृत्व गरेको प्रदेश सरकारमा यसअघि नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ । जसपा विभाजन भएपछि तत्कालीन राजपाको तर्फबाट बनेका मन्त्री र राज्यमन्त्रीहरुलाई हटाएर कांग्रेस, माओवादी र नेकपा एसलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउत बाध्य भएका हुन् ।साभार : नेपाल प्रेस

https://youtube.com/watch?v=S1KZIVlFeEs%3Ffeature%3Doembed

Comment here