खेलकुदसमाज

बार्सिलोनालाई जोन ग्याम्पर उपाधि

एजेन्सी, क्याटलान । क्याटलान क्लब बार्सिलोनाले इटालियन प्रतिद्वन्द्वी युभेन्ट्समाथि ३–० को सहज जित निकाल्दै आफैंले बर्सेनि आयोजना गर्ने जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । नोउ क्याम्पबाट आफ्ना लेजेन्ड तथा कप्तान लियोनेल मेस्सीलाई बिदाइ गरेकै दिन बार्सिलोनाले आफंैले आयोजना गरेको ट्रफीको उपाधि जित्न सफल भएको हो ।मेस्सीले बार्सिलोनाबाट आइतबार औपचारिक रूपमा बिदाइ लिएका थिए । २१ वर्ष बार्सिलोनामा रहेका मेस्सीले १७ सिजन बार्सिलोनाको सिनियर टोलीमा बिताउँदा थुप्रै उपाधिसँगै कीर्तिमान बनाएका थिए । तर, युभन्ट्सविरुद्धको खेलमा मेस्सीको अभाव देखिएन । बार्सिलोनालाई च्याम्पियन बनाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुचले गोल गरे ।पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । नोउ क्याम्पमा आइतबार राति भएको खेलको तेस्रो मिनेटमा नै यसै समरमा फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका मेम्फिस डिपाएको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ९०औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जितसहित च्याम्पियन बनाए । रिकी पुच ७१औं मिनेटमा सर्जि रोबर्टाेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

बार्सिलोना र युभेन्ट्स दुवै टोलीले यस खेलमा युवा खेलाडीलाई अवसर दिएका थिए । बार्सिलोनाले इमर्सन, निको गोन्जालेज, युसुफ डेमिर, एलेजान्द्रो बाल्डे, रे मानाज र एलेक्स कोल्लाडोलाई मौका दिएका थिए । यता, युभेन्ट्सले पहिलो हाफसम्म आफ्ना स्टार क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटालगायतलाई मौका दिएका थिए । दोस्रो हाफमा अन्य अनुभवी खेलाडीले अवसर पाए पनि मौकाको सदुपयोग गर्न सकेनन् । एकपटकको च्याम्पियन युभेन्ट्सले १६ वर्षपछि जोन ग्याम्पर कप खेले पनि उपाधि जित्न सकेन ।युभेन्ट्सले पछिल्लोपटक २००५ मा खेलेको थियो । क्याटलान क्लब बार्सिलोनाको यो वार्षिक कार्यक्रम हो । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ । हालसम्म ५६ पटक यो कपको आयोजना हुँदा बार्सिलोनाले हालसम्म ४४ पटक यो उपाधि जितेको छ । एफसी कोल्नले दुईपटक तथा अज्पेस्ट, बोरुसिया मोन्चेनग्लाडवाक, इन्टर नासिनोल, पोर्टाे, मेचेलेन, टेरेरिफ, भ्यालेन्सिया, युभेन्ट्स, म्यानचेस्टर सिटी र साम्पडोरियाले समान एक पटक उपाधि जितेका छन् ।

रियल रोकियो
प्रि–सिजनको मैत्रीपूर्ण खेलमा ग्यारेथ बेलले पेनाल्टी चुकाएपछि स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब एसी मिलानसँग गोलरहित बराबरी खेलेका छन् । अस्ट्रियामा आइतबार राति भएको खेलको ४१औं मिनेटमा सान्द्रो टोनाली र डाभिड कालाब्रियाले बेललाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको थियो । तर, बेलको पेनाल्टीलाई मेइगनानले बचाउँदा रियल अग्रता लिनबाट चुकेको थियो ।

यस खेलमा रियलले युवा टोलीलाई उतारेको थियो । रियलले डेभिड अलाबा, एन्ड्री लुनिन, मिगुइल गुइटेरेज, एन्टेनियो ब्लान्को, सर्जियो एरिवास, मार्भिन पार्क र भिक्टर चस्टलाई मौका दिएको थियो । अब दुवै टोली आ–आफ्नो देशको लिगमा होमिनेछन् । रियलले १५ अगस्टमा डिपोर्टिभो एलाभेससँग खेल्दै नयाँ सिजनको ला लिगाको सुरुवात गर्नेछ । मिलानले एक मैत्रीपूर्ण खेलपछि सिरी ‘ए’मा होमिनेछ ।साभार : राजधानी

Comment here