समाज

भड्किलो तीज : मौलिकता जोगाउनै सकस

काठमाडौं ।महिला दिदी बहिनीहरुको पर्व हरितालिका तीजको रमझम सुरु भएको छ । भाद्र शुक्लपक्षको तृतीयाका दिन मनाइने यो पर्वलाई एक विशेष पर्वकारुपमा मनाउने गरिन्छ । तीज पर्व धार्मिक महत्वको हिसावमा एकिन तिथी र मिति केलाई रहनु भन्दा पनि धार्मिक ग्रन्थहरुलाई पल्टाएर हेर्दा विभिन्न मतमतान्तर पाइने गरेको छ ।

विशेष गरी हिमालय पर्वतकी आफ्नी छोरी पार्वतीको शुभ बिवाह भगवान विष्णुसँग गरि दिन लागे पछि छोरी पार्वतीले बिष्णुसँग नभएर आफ्नो बिवाह भगवान महादेवसँग नै होस् भनी हरितालिका तीजको उपसना वा कठोर निराहार व्रत बसेर भगवान महादेवलाई प्राप्त गरेको सुवर्ण दिनलाई महान पर्वकारुपमा मानिदै आएको पाइन्छ भने अर्कातिर तीज पर्वलाई सामाजिक दृष्टिकोणबाट हेर्दा सानैमा बिवाहा गरेर पराई घर गएका छोरी चेलीहरुलाई आमा बाबा र चेली माइतीको सम्बन्ध, सद्भाव र अपनत्वलाई सदासर्बदा जीवन्त राखी रहनलाई तीजको अवसर बनाई आमा, दाजुभाइले छोरी चेलीलाई माइती वा जन्म घर बोलाएर रमाइलो तवरले मिठो मसिनो खुवाउने प्रचलनकारुपमा पनि यो पर्वलाई चित्रण गरिएको छ ।तीज पर्वलाई समग्र हिन्दु नारीहरुले पनि संरक्षण सम्बर्धन गर्दै अविवाहित नारीले असल र योग्य पति पाउँ भनी र बिबाहित नारीहरुले आफु र आफ्नो घर परिवारमा सुख, शान्ति छाओस भनी निराहार व्रत बसेर यो पर्व मानिदै आएको पाइन्छ । तर यो पर्वलाई गहिरिएर मनन र अध्ययन गर्ने हो भने तीज पर्वकारुपमा मात्रै नभएर बिधवा र सामान्य बर्गका महिलाहरुका लागि अभिषाप र बर्गियरूपमा भड्किलो बन्दै गहिरहेको देखिन्छ । किनकी महिनौं अघि देखि एक अर्काको घरमा बोलाउने जाने र दर खाने खुवाउने देखि होटेल,पाटी प्यालेस बुक गर्ने र रंगीचंगी महंगा बस्त्र माथी मुल्यवान आभूषण वा गहरगहनाको पहिरनले गर्दा चुलिदो महँगीको रापले सर्वसाधारणको जीवनमा कठिनाई देखा परेको छ ।

लैगिंक समानता र समता बिचको वर्गीय बिभेदीकरणलाई दुर दराजमा पुर्याउदै सामाजिक मूल्य मान्यता धार्मिक संस्कार, संस्कृती, र परम्परालाई एकातिर राखेर अर्का तिर विकृति ,बिसंगती, विलाशीता, घमण्ड, देखासिखी साथमा एक अर्कामा प्रतिस्पर्धात्मक लवाई खुवाईले गर्दा एकदमै भड्किलो पाराले भित्र रहेको तीज पर्वको सनातन देखि चलि आएको आफ्नो मौलिकता एक पुस्ताबाट अर्को पुस्तामा जस्ताको तस्तै हस्तान्तरण हुनुको सट्टा आफ्नो मौलिकता बोकेको यो पर्व लोप हुँदै गई रहेको आभास भएको छ । पर्वको नाममा हुने यस्तो कार्यले समाज, समुदाय, परिवार र ब्यक्ति बिचमा वर्गीय विभेदको ठूलो खाडल देखिनुका साथै नाता सम्बन्ध बिचमा वैमनष्यताको तगारो देखिएको छ । महंगो बन्दै गएको तीज पर्वले अर्थतन्त्रमा ठूलो आर्थिक संकट व्यहोर्नु पर्ने अवस्था सिर्जना भई रहेको पाइन्छ । यस्ले गर्दा सामान्य बर्गका महिला बिच र उच्च बर्गका महिला बिचको ठूलो दरार देखा पर्नुका साथै महिला शसक्तीकरणका उन्नयन र उर्जाशील भावनाहरु समेत तुहिनुको साथै सामाजिक परिवर्तन र समाज समुदाय र राष्ट्रलाई विकसित राष्ट्रमा रुपान्तरण गरी सुन्दर भविष्यको परिकल्पनाका सोचहरुमा समेत सुनामी देखा परेको छ ।गरिबीको रेखामुनि पिल्सिएर बसेका महिला र माइती नभएका चेली, विविध कारणले एक्लिएका छोरीहरु र सेतो पहिरन वा बिधवा भेषमा सजिएका बिधवा नारीहरुका लागि महंगो साडी चोली लगाएर छम्छमाइरहेका रंगमञ्चको भीडले गर्दा उनीहरुको आत्मवल तथा मनोबल कमजोर पार्दै शक्तिलाई निराशामा बदलिएको देखिन्छ । कहाँ देखिन्छ विधवा महिलाले तीज पर्वमा रातो साडीमा सजिएर अरु नारी सरह छमछम नाचेको ? खै कुन मन्दिरमा भेटिएकी छिन् विधवा नारी निराहार व्रत पछि शिव भगवान्लाई पानी चढाइरहेको ? उनको रातो साडी लगाउने नैसर्गीक अधिकार कुन न्यायालयको ढोकामा लुकेको छ ? अनि अरु नारी सरह मन फुकाएर हिड्ने सामाजिक भोटे ताल्चा कहाँ नेर लागेको छ ? यस्तो रुढीबादी अन्धविश्वास सोच बोकेको समाजमा पराकाष्ठा प्रकरणले जेलिएको जालो कहिले सम्ममा उन्मुलन हुनसक्छ ? पितृसतात्मक मुलुकमा नारी र पुरुष बिचको समग्र सहकर्यमा हिन्दु नारीहरुले मनाइने तीज पर्व आफ्नो मौलिकता झल्कने गरी सामाजिक सभ्यता बोकेको संस्कारी र सभ्य सबैमा स्वीकार्य बनेर आयो भने मात्र नेपाली नारीहरुको नारीत्वको पहिचान दिन सक्छ । तर आउँदै गरेको तीज खासै सन्देश मूलक नभएर लाखौं मुल्यका सुनका रानीहार, छड्के तिलहरी, जन्तर र अनेकौं गहरगहनाको एक अर्कामा प्रतिस्पर्धा देखिनुको साथै केही गीत र नाच अर्थात भिडियोले गाउँ शहर बजार देखि सामजिक सञ्जालसम्मको तातिएको माहोल पल्टाएर हेर्दा बिकृती बिसंगतीको दृश्यले गर्दा नारीको पहिचान, नारीको इज्जत, नारीप्रतिको सम्मान र नारीप्रति हेरिने दृष्टिकोणमा ह्रास आएको भान हुन्छ ।

तीज पर्वले यस्तो सन्देश दिन सकोस् ताकी आफ्नो मौलिकता झल्काउन सकोस् तीज पर्वको अवसरमा आएका अडियो भिडियोले नारीप्रतिका कुण्ठा, ब्यथा, मर्म र बेदना बाहिर उजागर गर्दै बलात्कारको सिकार बनेका भागिरथी, निर्मला पन्त जस्ता कयौं नारीहरुको न्याय खोज्न र निहारिका सपूत जस्ता न्याय नपाएर कारुणिकताको पर्खाल भित्र किचिएका नारीहरुको मुद्दा अदालतको इजलाससम्म पुर्याउने सन्देश मुलक गीत बज्न सकोस् । आजको नयाँ नयाँ सूचना प्रविधिको बिकाससँगै नयाँ कुराको खोज अनुसन्धान र बैज्ञानिक सोचको बिकास र धारणा बोकेको एक ससक्त उर्जाशील नारी समुदायको निर्माण भई राष्ट्रियतामा देखिएका समस्याहरुलाई निराकरणको मुलधारमा ल्याई देश र जनतालाई सही बाटोमा डोर्याउन सक्ने जुझारु नारी योगमाया नेउपानेले झै अहिलेका नारीहरुले पनि राष्ट्रमा परिवर्तनको मूल फुटाई सभ्य, असल सरस स्वावलम्बी स्वावभिमानी नैतिकवान चरित्रवान योग्य र दक्ष नारी समुहको बिकास हुन जरुरी छ ।

नारी माथि खड्किएका समस्या जो दाइजो प्रकरण, हत्या हिंसा बलात्कार, बोक्सिको आरोप देखि लिएर छोरा र छोरी बिचमा भैरहेको लैङ्गिक विभेद र बिधवा नारीहरुले पनि तिर्थ व्रत आराधना पूजापाठ अर्थात जुसुकै पनि शुभ कार्यमा अरु नारी सरह दिल फुकायर कार्य ब्यवहार गर्न पाउने र उनीहरुप्रति गरिने ब्यवहार र रुढीबादी संकुचित धारणा र हेरिने दृष्टिकोणमा आमूल परिवर्तन आउनु पर्ने चेतनामूलक र सन्देशमूलक बन्न सकोस् यस बर्षको हरीतालिका तीज । अन्त्यमा यो पर्व भडिकिलो र अस्लिल नबनोस, पुरानो परम्परा कायम होस् शुभकामना ।

साभार : कोसी अनलाइन

Comment here