समाज

मधेश प्रदेश सरकारले गरे धर्ना स्थगित


बटुकनाथ झा
जनकपुरधाम साउन ३१
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव पछि प्रहरी समायोजन गर्ने भने पछि साउन २९ गते देखि मधेश प्रदेश सरकारले प्रदेश प्रमुखको कार्यालय परिसरमा दिएको धर्ना स्थगित गरेकाछन् । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा धर्ना कार्यक्रम स्थगित भएको हो । प्रदेश प्रमुख मिश्रले मुलुक चुनावमा होमिएकाले चुनावपछि प्रहरी समायोजन हुने प्रधानमन्त्री शेर बहादुर देउवाले जानकारी दिएकाले धर्ना कार्यक्रम स्थगित गर्न भनेका थिए । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री वालकृष्ण खाण सहित सरकारमा रहेका दलका शीर्ष नेताहरूले प्रहरी समायोजनको काम मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावपछि गर्ने आश्वासन दिएकाले धर्ना स्थगित गरेको बताए ।
प्रधानमन्त्री आफैले फोन गरेर समायोजनको तयारी आफूहरूले पनि गरेको बताउँदै अरू केही विषयहरू मिलाउनु पर्ने भएकाले चुनावपछि समायोजन गर्ने विश्वास दिलाएपछि हालका लागि धर्ना सहितको आन्दोलनको कार्यक्रम स्थगित भएको मुख्यमन्त्री राउतले पत्रकारहरूलाई जानकारी दिए । मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारले पहिलो पटक प्रदेश प्रहरी ऐन बनाएका कारणले संघीय सरकारलाई प्रहरी समायोजन सम्बन्धी ऐन बनाउनका लागि बाध्य बनाएको बताउँदै नेपाल सरकारले प्रहरी समायोजनको सबै प्रक्रिया पुरा गरेकाले समायोजनमा चुनाव पछि ढिलाइ हुने कुनै कारण नै नभएको बताए

Comment here