विचारसमाज

‘मधेस’ प्रदेशपछिको मनोदशा

निश्चय पनि राजनीतिमा सम्झौतालाई महìवपूर्ण मानिन्छ

धर्मेन्द्र झा

विगतको प्रदेश २ को नामकरण मधेस प्रदेश गरिएको छ । यो नामकरणसँगै छ वटा प्रदेशको नाम जुराउने कार्य सम्पन्न भएको छ । आशा गरौँ नामकरण हुन बाँकी रहेको प्रदेश १ ले पनि छिटै यो कार्यलाई अन्तिम रूप देला । अहिले प्रदेश २ को नामकरणका सम्बन्धमा अनेकथरी चर्चा भइरहेका छन् । अनेक प्रश्न उठेका छन्, उठाइएका छन् । तर्क, विश्लेषण र विचार निर्माण तथा अभिव्यक्त गर्ने अधिकार सबैलाई छ । यस सन्दर्भमा अहिले केही प्रश्नतर्फ धेरैजनाको ध्यानाकर्षण भएको पाइएको छ । के प्रदेश २ को उपयुक्त नाम मधेस नै हो ? मधेस आन्दोलनले मुख्य उपलब्धि प्राप्त ग-यो ?

मधेस भूमि मानिएको बाँकी १४ जिल्लाका बासिन्दाले अब पहिचानको कस्तो रणनीति अपनाउलान ? के मिथिला र भोजपुरा पहिचानको आन्दोलनको सान्दर्भिकता अब समाप्त भएकै हो ? हाल आठ जिल्लामा सीमित हुन पुगेको मधेस भूमिको इतिहास, परम्परा र समग्र सभ्यता मिथिला र भोजपुरासँग जोडिएको तथ्यको उपस्थितिमा प्रदेश नामकरणको वर्तमान राजनीतिको भविष्य के होला ? निश्चय यी केही यस्ता प्रश्न हुन् जसको उत्तर भविष्यले दिने अपेक्षा गरिनु अस्वाभाविक हुँदैन ।

दुई मत छैन, मूलतः तराई–मधेसकेन्द्रित राजनीतिक दलहरूले विगतमा आफ्नो नाममा जोडिएको मधेस हटाएर बृहत् पहिचानको राजनीतिबाट आफूहरू किनारा लागेको सङ्केत गरेकै हुन् । ती दलका नेताहरू क्षेत्रवाद र प्रदेशवादबाट माथि उठेर ‘राष्ट्रिय’ बन्न खोजेकै हुन् । यही कारण हो मधेस त्यागेर ती दलका नेताका पार्टी अनेक चरणमा एकीकृत र ध्रुवीकृत भएका हुन् । निश्चय पनि राजनीतिमा सम्झौतालाई महìवपूर्ण मानिन्छ । भनिन्छ, एक पाइला अघि सार्न कहिलेकाहीँ दुई पाइला पछि हट्नुपर्ने हुन्छ । मधेसकेन्द्रित राजनीतिक दलले शायद अहिले यही रणनीति अवलम्बन गरेका छन् तर वर्तमानमा अवलम्बन गरिएको रणनीतिले भविष्य प्रभावित हुन सक्ने हेक्का शायद तिनले राखेका छैनन् ।

राजनीतिक दल र तिनका नेताले बृहत् पहिचानकोे कुरा मानसपटलमा राखिरहँदा शायद इतिहासलाई विस्मृतिमा राखेका छन् । विगतमा मिथिला र भोजपुराका रूपमा चिनिएका भूगोलका बासिन्दाले निश्चय पनि समग्र मधेसको आन्दोलनलाई सघाएका हुन् । यसको एक मुख्य कारण थियो, समग्र मधेसको माग सफल भए भविष्यमा त्यसैभित्र इतिहास र संस्कृतिका आधारमा स्वायत्त शासकीय एकाइहरूको स्थापना गर्न सहज हुन्छ भन्ने सोच तर मधेसलाई आठ जिल्लामा सीमित गरेर सम्बद्ध नेताहरूले ‘फेस सेभिङ’को बाटो रोजेपछि मिथिला र भोजपुराको पहिचान एक पटक पुनर्सङ्कटमा परेको कुरालाई अस्वीकार गर्न सकिँदैन । यसबाहेक मधेस प्रदेशका आठ जिल्लाबाहेकका बासिन्दाको पहिचानको सन्दर्भ पनि बडो महìवपूर्ण छ । यही विषय भोलिका दिनमा द्वन्द्वका कारण नबन्लान भन्ने कुराको प्रत्याभूति कसरी गर्ने ? आखिर विगतको मधेस आन्दोलन पनि त पहिचानकै नाममा भएकै हो, यो कुरा बिर्सन मिल्दैन ।

मधेसमा विगतमा जारी आन्दोलनको स्वरूपमा अहिले परिवर्तन देखिएको छ । प्रदेशको नामकरण र राजधानी टुङ्गो लागे लगाइएसँगै आन्दोलनको भविष्य–प्रभाव र औचित्यको मूल्याङ्कन अहिले विश्लेषकका लागि रुचिको विषय बनेको छ । मधेसको आन्दोलन कुनै न कुनै रूपमा अस्तित्वमा रही जारी रहेको थप प्रमाणित गर्ने प्रयत्न भइरहेको वर्तमानमा नयाँ ढङ्गले पक्ष र विपक्षमा तर्क तयार गर्ने कार्य सुरु भएको छ भन्दा अस्वाभाविक हुँदैन । तर्क–वितर्कको यो अवस्थाले समाज एक पटक पुनर्विभाजित हुने अवस्थामा पुगेको छ, जो दुःखद छ । केही विश्लेषक त विगतमा मिथिला पक्षधर मानिनेहरूले वर्तमानमा राजधानी जनकपुरसँग प्रदेशको नाम साटेको आरोप पनि लगाएका छन् । आशा गराँैं, यो आरोप सत्य नहोस् । सत्य साबित भएछ भने भविष्यमा यस भूखण्डको राजनीति थप जटिल बन्न सक्छ । निश्चय पनि यी सबै कुरालाई आजको विश्वको भूराजनीतिबाट अलग राखेर हेर्न मिल्दैन ।

मधेसको आन्दोलन विगतमा जुन गतिमा उकालो लागेको थियो, प्रदेश नामकरणपछिका दिनमा त्यही गतिमा यहाँको मनोविज्ञानमा पनि परिवर्तनको अनुभव गरिएको छ । यो आलेख तयार गर्ने सन्दर्भमा पङ्क्तिकारले भैरहवाको भ्रमण गर्ने अवसर प्राप्त गरेको थियो । पश्चिम नेपालको व्यापारिक सहर भैरहवाको योगदान मधेस आन्दोलनका सन्दर्भमा निकै महìवूर्ण मानिएको थियो । प्रदेश २ को नामकरणसँग जोडेर यहाँका एक व्यक्तिले पङ्क्तिकारलाई पहिचानका लागि अब आफूहरूले फरक ढङ्गले सोच्नुपर्ने बाध्यता आइपरेको सुनाउनुभयो । उहाँ विगतको मधेस आन्दोलनमा सहभागी हुनुभएको थियो । वीरगञ्जले विगतको मधेस आन्दोलनको केन्द्रीय भूमिकाका रूपमा नयाँ परिचय स्थापित गरेको हो । त्यसबेलाको आन्दोलनको केन्द्र वीरगञ्ज सहरबाटै विरोधका सबैखाले कार्यक्रम तय भई मधेसभर प्रसार हुने गरेको थियो । त्यसबेला वीरगञ्ज सहरको ‘मुड’ बेग्लै थियो तर अहिलेको ‘मुड’ बेग्लै छ ।

कुरो वीरगञ्ज सहरको मात्र होइन करिबकरिब पूरै मधेसकै ‘मुड’मा परिवर्तनको अनुभव गरिँदैछ । आज मधेसवासी मधेस आन्दोलन पहिलेको अवस्था, आन्दोलनकालीन अवस्था र आन्दोलनपछिको अवस्थाको तुलना गरिरहेका छन् र आफूूहरूको अवस्थाको पुनर्मूल्याङ्कनको प्रयास गरिरहेका छन् । आन्दोलनका नाममा मधेसवासीले के पाए र के गुमाए ? मूल्याङ्कनको मुख्य विषय यही नै हो । आन्दोलनका आधारमा स्थानीय र राष्ट्रिय राजनीतिक अवस्थामा कस्तो परिवर्तन आयो ? आर्थिक गतिविधिमा के प्रभाव प-यो र समाज कुन रूपमा रूपान्तरित भयो ? आम मधेसवासीका लागि अहिले यी विषय विश्लेषणयोग्य छन् ।

होला, राजनीतक दलका नेता तथा तिनका खास कार्यकर्ताका लागि अहिलेको प्रदेशको नामकरण ठूलै उपलब्धिको विषय हुन सक्छ । तर यतिमै चित्तमै बुझाउने प्रयत्न हो भने यसलाई किमार्थ पनि उचित मान्न सकिँदैन । सत्य त के हो भने यो नामकरणसँगै समग्र मधेसले एक पटक फेरि उपेक्षित हुनुपरेको र विगतको चर्को आन्दोलनपछि पनि आफू सम्बोधित हुन नसकेको पीडा सँगाल्न बाध्य हुनुपरेको छ । मधेसलाई अहिले लागेको छ– आन्दोलनका नाममा कसैले आफूलाई प्रयोग गरेको छ । केही नेताले भन्ने गरेका छन्, प्रदेश २ को मधेस नामकरण समग्र मधेस (मधेसका २२ जिल्ला) का लागि उपलब्धि हो । यसो हो भने प्रश्न उठ्छ, नामकरणको खुसियाली बाँड्न मधेस सरकारले दिएको बिदाको उपयोग सबैले गरे त ? के मेचीदेखि महाकाली सबैतिर दीप प्रज्वलित गरेर खुसियाली मनाइयो ? सप्तरीदेखि पर्सासम्म नेता कार्यकर्ताको उपस्थितिमा एकथरी मधेसीले खुसी मनाइरहँदा यसभन्दा बाहेकका भूगोलका मधेसीको मनोस्थितिको विश्लेषण कसैबाट भयो कि भएन ?

यस्तो मनोदशाले मधेसलाई एक पाइला पछाडि धकेल्ने काम गरेको छ भन्दा अस्वाभाविक हुँदैन । आन्दोलनका समयमा यहाँका समग्र मधेसी जति उत्साहित थिए, त्यसमा ह्रास देखा परेको छ । त्यसबखत स्थानीय जनताको ठम्याइ थियो– आन्दोलनको परिणामले मधेसमा व्याप्त विभेदको अवस्थालाई चिर्नेछ र समतामूलक समाजको निर्माण हुनेछ तर यतिखेर उनको ठम्याइ छ– विगतका अपेक्षामाथि तुषारापात भएको छ ।

मधेसमा अहिलेको यथार्थ फरक छ र यसलाई यसै आधारमा विश्लेषण गरिनु उचित हुन्छ । मधेसको राजनीति नयाँ ढङ्गले परिवर्तित हुँदैछ । समाज फरक आधारमा रूपान्तरित हुँदैछ र मधेसवासीको मनोदशा खास आधारमा विकसित हुँदैछ । थुप्रै प्रश्न विद्यमान छन् जसका उत्तर अपेक्षित छन् । मधेसवासी एक पटक फेरि आफूहरूको पक्षमा कुन राजनीतिक दल क्रियाशील छन् भन्ने खोजी गर्ने अवस्थामा पुगेका छन् भनेर भनियो भने त्यो असङ्गत हुने छैन ।

विगतको तुलनामा सन्तोषको एक विषय छ, त्यो के हो भने, मधेशवासीलाई माथि गरिएको विश्लेषणबारे राम्रै जानकारी छ । विगतको तुलनामा चेतनाको सार्थक विकास भएको छ । अब यहाँका बासिन्दा विगत र वर्तमानको तुलना गर्ने क्षमता राख्दछन् । यस आधारमा एक सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ–अब राजनीतिक दलले भनेकै भरमा र तिनले उठान गरेका मुद्दाका आधारमा मात्र मधेसको मत निर्देशित हुने अवस्था छैन । अब यहाँका जनताले जे मुद्दा उठान गर्छन् र तिनको समाधान जसरी चाहन्छन् त्यही आधारमा मधेस निर्देशित हुने पक्का छ ।साभार : गोरखापत्र अनलाइन

Comment here