समाज

मानव अधिकारको सवालमा सरकार चुक गरेको छ ः मन्त्री महतो


बटुकनाथ झा
जनकपुरधाम भदौँ ३१ गते ।
मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले मानव अधिकारका कतिपय सवालहरूको सम्बोधन गर्न संघ तथा प्रदेश सरकार चुकिरहेको स्वीकार गर्नुभयो । अनौपचारिक सेवा केन्द्र इन्सेकको मधेश प्रदेश समितिले शुक्रबार जनकपुरधाममा आयोजना गरेको मानव अधिकार रक्षकहरूको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सांसद र मानव अधिकार रक्षकहरू बीचको छलफल मा उहाँले प्रदेश सरकारसँग प्रहरी भएको खण्डमा मानव अधिकारको संरक्षण गर्न मद्दत पुग्ने बताउनुभयो ।
मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्री सुरेश मण्डलले मानव अधिकार रक्षकहरू मानव अधिकारको जोखिममा परेकाहरूको पक्षमा रहने भएकाले कहिलेकाहीँ पीडकबाट जोखिममा पर्ने भएकाले मानवअधिकार रक्षकहरूको सवालमा कानून बन्न आवश्यक भएको बताउनुभयो ।
इन्सेकका मधेश प्रदेशका प्रमुख राजु पासवानले मानव अधिकारको पक्षमा कामकाज गर्दा मानव अधिकारकर्मीहरू नै मानसिक तथा शारीरिक हिंसामा पर्ने गरेकाले मानव अधिकार रक्षकहरूको विषयमा संघ तथा प्रदेश सरकारबाट कानूनको निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश कार्यालयका प्रमुख वीर बहादुर बुढामगरले मानव अधिकार रक्षकहरू जहिले पनि जोखिममा हुने भएकाले उनीहरूको हितको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

Comment here