समाज

लोसपा परित्याग गरेर वृषेशचन्द्र लाल तमलोपामा प्रवेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले पार्टी परित्याग गरेका छन्। मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरेर लालले पार्टी परित्यागको घोषणा गरेका हुन्।लोसपा परित्याग गरेसँगै उनी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गरेका छन्। लालसँगै संविधानसभाका सदस्य डा।विजयकुमार सिंहसहितका नेताहरू पनि लोसपा परित्याग गरेर तमलोपा प्रवेश गरेका हुन्।लोकतान्त्रिक विधिबाट सञ्चालन हुन नसकेकोले लोसपा परित्याग गरेको लालले बताएका छन्। मधेस र क्षेत्रीय मुद्दाको वकालत गर्ने कुनै पार्टी नभएपछि तमलोपामा प्रवेश गरेको उनको भनाइ छ।‘मधेस मुद्दा र क्षेत्रीय मुद्दाको वकालत गर्ने अब कुनै पार्टी रहेन। अपवित्र गठबन्धनहरू हुनथालेका छन्,’ उनले भने,‘माग र मुद्दा बिर्सेर सबै पार्टीहरू सत्ताकै लागि सीमित भए। त्यसैले लोसपा परित्याग गर्ने निर्णयमा पुगेका हुँ।’नेतृत्वपंक्तिले पार्टीमा आफूखुशी निर्णय लाद्ने गरेको आरोप लगाउँदै उनले अपेक्षा गरेअनुसार लोसपा लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढ्न नसकेको जिकिर गरे।‘पार्टी गठन गर्दा सल्लाह लिइन्छ। सञ्चालन गर्नेबेला आफूखुशी निर्णय हुन्छ,’ उनले भने,‘सल्लाह नै नगरी एकीकरण र विभाजन हुने गरेको छ।’उनले तमलोपा लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार अगाडि बढ्ने दाबी गरेका छन्। लाल र सिंहका साथै धनुषाका धिरेन्द्रबहादुर सिंह, रामजी राय, उमेश मण्डल, सतिश लाल कर्णलगायतका नेताहरू लोसपा परित्याग गरेर तमलोपा प्रवेश गरेको घोषणा गरेका छन्।मधेस आन्दोलनपछि महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन भएको थियो। पछि तत्कालीन ६ वटा मधेस केन्द्रित दलहरूसँग एकीकरणपछि राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो।राजपा गठनपछि निर्वाचन आयोगले तमलोपा नाम ‘फ्रिज’ गरेको थियो। जनता समाजवादी पार्टी ९जसपा० भित्र विवाद चलिरहेकै बेला धनुषाका रविशंकरलाल कर्णले आफ्नो नेतृत्वमा तमलोपा दर्ता गराएका थिए। जनकपुरका पूर्वमेयरसहित रहेका लाल, सिंहलगायतका नेताहरू मधेस आन्दोलनपछि कांग्रेस छाडेका ठाकुरलाई तमलोपा गठनमा सहयोग पुर्‍याएका थिए।साभार : आयोमेल

Comment here