समाजस्वास्थ्य

विलासी जीवनशैलीले बढ्दै मधुमेहका बिरामी ,यसरी हुन्छ नियन्त्रण

काठमाडौं ।  आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबिटिज फेडेरेसन र विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रूपमा मनाउन थालिएको हो ।सन् २००६ मा यो दिवसले आधिकारिक रूपमा संयुक्त राष्ट्र सङ्घ अन्तर्गत स्थान पाएको थियो । आज मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिन पनि हो । फ्रेड्रिक ग्रान्टले चार्ल्स बेस्टसँग मिलेर सय वर्ष पहिले इन्सुलिनको खोज गरेका थिए। उनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ ।रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुनु र उत्पादन भएको इन्सुलिनले पनि शरीरमा प्रभावकारी रूपमा काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिन्छ । यो अवस्थालाई नै मधुमेह भनिन्छ । आफूलाई मधुमेह भएको छ वा छैन भनेर परीक्षण पूर्व नै जानकारी हुन सक्छ । मधुमेह भएमा मुख सुख्खा हुने, पटक पटक पिसाब आउने, बढी तिर्खा लाग्ने, भोक धेरै लाग्ने, हात गोडा झम्झमाउने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखा पर्ने बित्तिकै परीक्षण गरेर चिकित्सकको सल्लाह लिनुपर्छ ।मधुमेहलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले शरीरका अन्य अङ्ग जस्तै: आँखा, मुटु, मिर्गौला, तथा स्नायुमा पनि असर पुर्‍याउन सक्छ । शरीरको तौल बढ्दै गएमा मधुमेहको जोखिम पनि उत्तिकै बढ्दै जाने सम्भावना रहन्छ । तर, खानपानले पनि मधुमेहको निर्धारण गर्छ । यो सरुवा रोग होइन तर यसलाई जेनेटिक रोगको रूपमा लिइन्छ । परिवारका कुनै सदस्यलाई मधुमेह छ भने उसको सन्तानमा पनि यो रोग देखिने सम्भावना उत्तिकै रहन्छ । मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरूलाई मधुमेहको समस्या देखा पर्न सक्छ । अहिले विश्वभर ४५ करोडभन्दा बढी मानिस मधुमेहबाट पीडित रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ । विलासी जीवनशैली र अस्वस्थकर खाना नै मधुमेहको मुल कारण हो । मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने भएकाले मधुमेह भएका व्यक्तिले खानपानमा सजगता अपनाउन जरुरी हुन्छ । साथै दैनिक रूपमा व्यायाम गर्नु र तनावमुक्त हुनु पनि यसबाट बच्ने उत्तम उपाय हो । साभार : स्पेसखबर

Comment here