समाज

विवाह पञ्चमीको मुख्य दिन आज, जानकी मन्दिरमा विवाहको रौनक

जनकपुरधाम । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज विवाह पञ्चमी मनाइँदैछ । मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको थियो । सोही आधारमा जानकी मन्दिरले हरेक वर्ष विवाह पञ्चमी उत्सव मनाउदै आएको छ । जनकपुरधाममा यतिबेला विवाह पञ्चमीको रौनक र रमझम छ ।त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।रामायणमा वर्णन भएअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवी देवताको उपस्थिति थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।मिथिलामा हुने विवाहमा गरिने सबै विधि अपनाएर प्रतिकात्मक सीता(रामको विवाह गरिन्छ । पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौं दिन मटकोर सम्पन्न भइसकेको छ । आज स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी ऐतिहासिक रङ्गभूमिमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । त्यहाँ स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह गरिने परम्परा रहेको जानकी मन्दिरका महन्त रोषण दासले सुनाए ।उनका अनुसार भगवानको डोला शोभायात्रा र विवाह समारोह सबभन्दा महत्वपूर्ण मानिन्छ । विवाहका बेला वर र कन्यापक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीता(रामको प्रतीकात्मक झाँकी र लाखौं संख्यामा उपस्थित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।भगवान रामको जन्मभूमि अयोध्याबाट हरेक ५ वर्षमा जन्ती आउँछन् । यसवर्ष भने औपचारिक रुपमा जन्ती आउने छैनन् । तर पनि ५ लाख बढी साधुसन्त, महन्त तथा श्रद्धालु आउने अनुमान जानकी मन्दिरका सहायक महन्त रोषण दासको छ । रातिदेखि नै जनकपुर श्रद्धालुले भरिएको छ ।श्रद्धालु भक्तजन आज बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।विवाह पञ्चमीको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । जनकपुरधामका शैक्षिक संस्थाहरु हिजोदेखि नै बन्द छ । विवाह पञ्चमीमा सहभागी श्रद्धालुको सुरक्षार्थ २७ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।साभार : नेपाल प्रेस

Comment here