Uncategorized

विश्व मुटु दिवस आज

विराटनगर ।  विश्व मुटु दिवस आज (बुधबार) परेको छ । प्रत्येक वर्ष सेप्टेम्बर २९ मा जनचेतनामूलक विविध कार्यक्रम गरेर विश्वभर यो दिवस मनाउने गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व मुटु दिवस मनाउने गरिन्छ  । विभिन्न तथ्याङ्कबाट नेपालमा पनि मुटु रोगीको सङ्ख्या बढ्दै गइरहेको देखिन्छ । एकबाट अर्कोमा नसर्ने प्रकृतिको यो रोगबाट बिरामी हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ । विपन्न र ग्रामीण क्षेत्रका नागरिक आर्थिक अभाव एवम् विकटताका कारण उपचार पाउनबाट पनि बञ्चित भइरहेका छन् । नेपालमा नागरिकलाई सहज हुने ठाउँमा मुटु रोगको उपचार गराउने स्वास्थ्य संस्था पनि छैन । आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा मुटु रोगी बढ्दै गइरहेको देखिन्छ । मुटुसम्बन्धी वंशाणुगत समस्याले गर्दा पनि नागरिक पीडित छन् । स्वास्थ्य सम्बन्धी धेरै विषयमा ध्यान दिँदा मुटु रोगबाट बच्न सकिने विज्ञहरुको सुझाव छ । 

मुटु दिवसको अवसरमा मुटुमा लाग्ने रोग, नागरिकले ध्यान दिनुपर्ने कुरा, उपचार पद्धति लगायतका बारेमा प्रष्ट पार्ने गरिन्छ । मानिसको शरीरमा रहेका महत्वपूर्ण अङ्गमध्ये मुटु एउटा हो । जिन्दगी जिउन महत्वपूर्ण अङ्गका रूपमा मुटुलाई लिने गरिएको छ । शरीरमा रक्तसञ्चारको काम गर्ने मुटु केही बेर बन्द भएमा मानिसको मृत्यु हुन्छ । मानिसको जीवन रहेसम्म मुटुले आफ्नो काम गरिरहेको हुन्छ । मानिसमा जन्मजात यसको समस्या पनि आउन सक्छ । अर्को कुरा जीवन जिउने क्रममा मुटुका भल्बहरु बन्द हुने लगायतले समस्याले मानिस यो रोगबाट ग्रसित पनि हुन्छ । पछिल्लो समय मुटुका भल्ब बन्द हुने समस्या भएका बिरामी बढ्न थालेका छन् । यो समस्याले खतरनाक रूप लिइरहेको छ । त्यही भएकाले मुटु जोगाउन सावधानी अपनाउने र खानपानमा ध्यान दिने विषयमा विज्ञहरुले सुझाव दिइरहेका छन् । विशेषगरी मुटुलाई रक्तसञ्चार गर्ने नलीहरुमा कुनै पनि कारण अवरोध आएको खण्डमा मुटुको कुनै पनि भागको मांसपेशीको मृत्यु हुन सक्छ । त्यसलाई नै हृदयाघात अथवा हर्टअट्याक भनिन्छ । मानिको जीवन शैलीमा आएको परिवर्तनसँगै विशेषगरी सहरी क्षेत्रमा ५ गुणाले हार्टअट्याक स्केमिक हार्ट डिजिजको सङ्ख्या बढेको देखिन्छ ।शारीरिक व्यायामको कमी, खानपानमा आएको परिवर्तन, अत्याधिक धूमपान, मध्यपान, प्रदूषण, तनावपूर्ण जीवन लगायतका कारणले मानिसमा मुटुको समस्या निम्तने गरेको विज्ञहरु बताउँछन् । उपचार गर्ने भरपर्दो स्वास्थ्य संस्था नहुनु र नागरिकमा जनचेतनाको अभाव हुनुले मुटु रोगीको सङ्ख्या बढ्दै गइरहेको छ । मधुमेहका बिरामीलाई पनि मुटुरोग लाग्ने सम्भावना धेरै हुन्छ । साभार : कोसीअनलाइन

Comment here