समाज

सरकारले चैतसम्म सबै नागरिकले खोप पाउने, असोज सम्म २ करोड डोज ल्याउने दाबी

काठमाडौं । सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झन्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा असोज मसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८५० र चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई पुग्नेगरी खोप ल्याउने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले गृहमन्त्रीसहित विभिन्न उच्च पदस्थ अधिकारीहरुको बैठकमा आइतबार एकसाताभित्र १६ लाख चिनियाँ र १६ लाख जापानी गरी ३२ लाख डोज खोप आउँदै गरेको जानकारी दिए । 

यसअघि साउन १५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै चैत मसान्तभित्र सम्पूर्ण नेपालीलाई पुग्नेगरी खोप ल्याइने जनाएको थियो । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार चीनको सिनोफार्म कम्पनीबाट थप ६० लाख डोज खरिद सम्झौता अगाडि बढेको छ । जापानले घोषणा गरेको १६ लाख  र भारतसँग खरिद गरिएको १० लाख डोज अष्ट्राजेनिकाको खोप आउँदैछ । योसहित नेपालमा असोज मसान्तसम्म कोभिड १९ विरुद्धको कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप आउनेछ । त्यसैगरी कोभ्याक्स कार्यक्रमको लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज खोप ल्याइनेछ भने १२ वर्षमाथिका बालबालिकाको लागि ६० लाख डोज फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ । कोभ्याक्स सुविधाबाट प्राप्त हुन बाँकी १ करोड १३ लाख डोज खोप क्रमशः प्राप्त हुँदै जाँदा चैत्र मसान्तसम्म सबै नेपालीलाई खोप उपलब्ध हुने आकलन मन्त्रालयको छ । साभार : विकास टाइम्स

Comment here