समाज

साउनको पहिलो सोमबार: शिवोपासनामा लीन भक्तजन

काठमाडौं ।  आज साउन (श्रावण) महिनाको पहिलो सोमबार। देशभरका शिवालयहरुमा भक्तजन (शिवभक्त)हरुको घुइँचो लागेको छ। साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन्।यस दिन शिव भक्त विशेष गरी महिलाहरु भगवान शिवको व्रत बस्छन्।  महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाउँछन्। साउने सोमबारको व्रत बस्नेहरु विहान मन्दिर पुगेर पूजा गर्छन्। साँझ घरमा पनि शिवको पूजा गरेर व्रत तोड्छन्। व्रत बसेको बेलुका चोखो खानेकुरा खाने विशेष गरी कर्कलो खाने गरिन्छ। अविवाहित महिलाहरु शिवजस्तै वर पाउने मनोकांक्षासहित व्रत बस्छन्। यस्तै, विवाहित महिलाहरु आफ्नो पतिको दीर्घायू र परिवारका सदस्यको सुख शान्तिको लागि व्रत बस्ने गर्छन्। महिलासँगै पुरुषहरु पनि सोमबार व्रत बस्ने गर्छन्। ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिन गरिने शिवको उपासनालाई विशेष मानिन्छ। हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।साउन महिनाभर माछामासु नखाइ सात्विक भोजन गर्ने चलन पनि छ। सोमबार देशभरका शिवालयमा जस्तै काठमाडौंको पशुपतिनाथमा पनि भक्तजनहरुको विहानैदेखि भिड लागेको छ।साभार : नेपाल लाइभ

Comment here