समाज

सामाजिक सन्देश बोकेको कथा ‘डक्टर जी’

काठमाडौँ । बलिउडका बहुमुखी अभिनेता हुनुहुन्छ, आयुष्मान खुराना । उहाँ अभिनीत चलचित्र ‘डक्टर जी’ अहिले धेरै चर्चामा छ । उहाँसँगै चलचित्रमा नायिका रकुलप्रीत सिंहको पनि अभिनय छ । सधैँ भिन्न किसिमको भूमिका गर्न रुचाउने अभिनेता खुरानाले यस पटक पनि दर्शकका लागि चलचित्रमा केही नयाँ कुरा पस्कन खोज्नुभएको छ । कमेडीसँगै चलचित्रले राम्रो सामाजिक सन्देशको कथा बोकेको छ । चलचित्रको कथा भोपालमा बस्नुहुने मेडिकल विद्यार्थी उदय गुप्ता (आयुष्मान खुराना)को बारेमा हो । उहाँले बाल्यकालदेखि नै अर्थोपेडिसियन बन्ने सपना देख्नुभएको हुन्छ । एमबीबीएस पूरा गरेपछि उदय पीजीमा भर्ना हुनुहुन्छ र अर्थोपेडिक्स लिन चाहनुहुन्छ । तर उदयको भाग्यमा नभएको भनौँ या कम -याङ्क र सिट अभावका कारण उहाँ अर्थोपेडिक्सको सट्टा स्त्रीरोग विशेषज्ञ शाखामा भर्ना हुनुहुन्छ । यसले उहाँलाई निकै दुःखी बनाउँछ । अर्कोतर्फ उदयलाई यो पेसा आफूलाई नसुहाउने भान हुन्छ । यसले गर्दा उहाँले निकै लाज पनि खेप्नु पर्छ । उहाँ भोपालमा आफ्नो भाइसँग बस्नुभएको हुन्छ । स्त्रीरोग विशेषज्ञको तालिमका क्रममा उदयले धेरै चुनौती सामना गर्नुपर्छ । यहीँबाट कथामा रमाइलोपनको झल्को आउँछ । के उदय आफैँ स्त्रीरोग विशेषज्ञ हुन स्वीकार गर्नुहुन्छ ? के उहाँलाई महिलाको दृष्टिकोण बुझ्न गाह्रो छ ? यी सबै कुराको सम्मिश्रण हो, चलचित्र ‘डक्टर जी’ ।चलचित्र अनुभूति कश्यपले निर्देशन गर्नुभएको हो । चलचित्रमा निर्देशकको काम उत्कृष्ट देखिन्छ । अनुराग कश्यपको बहिनी अनुभूति कश्यपले यस कमेडी ड्रामा चलचित्रमार्फत सामाजिक मुद्दालाई नयाँ ढङ्गबाट चलचित्रको पर्दामा देखाउनुभएको छ ।चलचित्रको कथाले समाजको सोचलाई चित्रण गर्छ; जहाँ महिला र पुरुषले के गर्ने र के नगर्ने भन्ने निर्णय समाजले गर्छ भन्न खोजिएको छ । कसरी मानिसहरू पुरुष स्त्रीरोग विशेषज्ञभन्दा नारी स्त्रीरोग विशेषज्ञलाई बढी प्राथमिकता दिन्छन् ? वर्षौंदेखि चलिआएको यो अवधारणालाई अनुभूतिले आममान्छेको सोचबाट भत्काउने प्रयास गर्नुभएको छ । चलचित्रको कथा बेजोड छ । सबै कुरा कथाअनुसार सलल बगेको छ । अभिनेता आयुष्मान खुरानाले हरेक पटक आफू राम्रो कलाकार भएको प्रमाणित गरिसक्नुभएको छ । चलचित्रमा उहाँको अभिनयमा कसैले प्रतिस्पर्धा गर्न सक्दैन । त्यसै पनि दर्शकले आयुष्मानलाई यस्तो चरित्रका लागि सधैँ मन पराउनुभएकै छ । अन्य चलचित्रको भन्दा यसमा अभिनेत्री रकुलप्रीत सिंहको अभिनय राम्रो छ । त्यस्तै अर्का कलाकार सेफाली शाहको अभिनय पनि दमदार छ । उहाँ जति पटक चलचित्रमा देखिनहुन्छ, दर्शकले उहाँको अभिनयमा केही न केही नयाँ कुरा पाउँछन् । यस्तै आयुष्मानकी आमाको भूमिका निर्वाह गर्नुभएकी शिवा चड्डाको चरित्र जोडदार छ । चलचित्रका केही संवाद वास्तवमै निकै राम्रा छन् । साभार : गोरखापत्र

Comment here