समाज

सिरहा औरही उपाध्यक्षमा जसपाबाट दुईजनाको मनोनयन, एकको रद्द

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट दुईजनाको उम्मेदवारी परेको छ । यहाँ देवझारी यादव र रेणु यादवले मनोनयन दर्ता गराएका हुन् ।मधेस प्रदेशका कृषिमन्त्रीसमेत रहेका जसपा कार्यकारिणी सदस्य विजय यादवको गृहगाउँ हो औरही । यहाँ उनको चाहनाबमोजिम रेणु यादवले उपाध्यक्षले टिकट पाइन् ।तर, जसपा नेता रामरिझन यादवले देवझारीलाई उपाध्यक्ष दिनुपर्ने अडान लिएका थिए । जसपामा तत्कालीन नयाँ शक्ति र उपेन्द्र यादव पक्षका नेता कार्यकर्ता विभाजित छन् । केहिदिन अगाडि मात्र जसपा प्रवेश गरेकी रेणुलाई टिकट दिन लागेको भन्दै देवझारी असन्तुष्ट बनिन् ।मनोनयन दर्ताको अन्तिम दिन बिहान देवझारीलाई रामरिझन यादवले टिकट दिए । लगत्तै उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन गरी ।नयाँ शक्तिमा रहेका बेला उनको नाम सामानुपातिक सूचीमा रहेकाले उनी उम्मेदवार बन्नबाट वञ्चित भइन् ।औरहीका निर्वाचन अधिकृत पिताम्वर गौतमले सामानुपातिकको बन्दसूचीमा नाम रहेकाले देवझारीको उम्मेदवारी दर्ता भएर पनि सिस्टममा नगएको जानकारी दिए । जसपाकै तर्फबाट पछि रेणुले उम्मेदवारी दर्ता गराएको र सिस्टममा गइसकेकाले रेणुकै उम्मेदवारी कायम रहने उनको भनाइ छ ।नेता रामरिझन यादवले सामानुपातिक बन्द सूचीको नाम कटाउन नसकेकाले देवझारी टिकट पाएर पनि उम्मेदवार बन्न नपाएपछि दुःख लागेको बताए । उनले भने, ‘व्यस्तताको कारण बन्दसूचीमा उनको नाम रह्यो । अहिले उनी उम्मेदवार हुन पाइनन् । यो मेरै गल्ती हो । त्यसको मूल्य देवझारीले चुकाउनुपरेको छ ।’औरहीमा जसपाको तर्फबाट शिवजी यादव पुनः अध्यक्षमा उम्मेदवारी दिएका छन् । पार्टीमा टिकटका लागि देखिएको विवादले अध्यक्ष यादवलाई प्रभाव पर्नसक्ने चर्चा चल्न थालेको छ । यादव गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका सिद्धार्थ यादवबाट मात्र ६ भोटले पराजित भएका थिए ।साभार : नेपाल प्रेस

Comment here