समाज

१४औं महाधिवेशनमा सहभागि भइरहनु भएका आदरणीय साथीहरूलाई खुला-पत्र

प्रफुल्ल कुमार घिमिरे

महासमिति सदस्य क्षेत्र न.३, धनुषा

१४औं महाधिवेशनमा सहभागि भइरहनु भएका आदरणीय साथीहरू

जय नेपाल ।

विभिन्न उतार चढाव झेल्दै अधिवेशनका पटक पटक निर्वाचन कार्यतालिका फेरिदै चरम गुटबन्दीका हानाथापका मारवाट गुज्रिदैं बिमति-सहमति असहमति हुदै आ-आफ्नो समुहको वर्चस्व कायम गर्न नेतृत्व हत्याउने रणनीति अनुसार बिधि बिधान बिपरित बिकृति बिसंगतिका माझ अधिवेशनहरु र महाअधिवेशन हुन गइरहेको छ। कतिपय जिल्लाहरुमा वडा तहका अधिवेशन सम्पन्न भइसकेको छ भने कतिपयमा असोज ५ गते देखी प्रारम्भ हुने कार्यतालिका नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समितिले प्रकाशित गरेको छ।उक्त निर्वाचन तालिका अनुसार अव हुन गइरहेको अधिवेशनहरु र केन्द्रिय महाअधिवेशनमा तमाम निष्ठावान कार्यकर्ता र नेतृत्वले सोच्नु पर्ने बेला आएको छ। नेतृत्व तहमा रहेका नेताहरूको कमि कमजोरी स्वार्थले गर्दा दिन प्रतिदिन काँग्रेस आफ्नो मुल्य मान्यताबाट बिचलन हुन थाल्या छ। बिधि बिधान नियम पद्धतिहरुलाई थाङ्नामा सुत्याइएको छ। शक्ति , पैसा एंव जातीय बाहुल्यताको आधारमा कतिपय ठाउँमा संगठनलाई क्यापचर पार्ने कोशिश गरिएको छ। निष्ठावान कार्यकर्ताहरु बहारिएका छन। गुटबन्दीका चरम पराकाष्ठाहरु देखा पर्न थालेका छन। यस्तो बिषम परिस्थितिमा हुन गइरहेको अधिवेशनमा पनि अब हामीले न सोच्ने हो भने कहिले सोच्ने ? समयमा सोच्न सकिएन र सहि निर्णय लिन सकिएन भने पछि पश्चताएर के हुन्छ ? सहि समय छ सहि निर्णय गर्ने बेला आएको छ। यसर्थ अब हामिले कस्तो काँग्रेस बनाउने हो ? सोच्ने बेला आइसकेको छ। चिन्तन गरौं, मनन गरौं र काँग्रेसलाई जोगाउन बिवेकपुर्ण निर्णय लियौं। लोकतान्त्रिक बिधि बिधान ,नियम र पद्धति बिपरित चरम गुटबन्दीको आधारमा चल्ने काँग्रेस कि लोकतान्त्रिक मुल्य मान्यता अनुरुप बिधि बिधान , नियम र पद्धतिमा चल्ने गुटबन्दी रहितको काँग्रेस ? अवसरवादि, चाकडीवाज, नातावाद कृपावाद ,भ्रष्टचारि, जातिवादहरुको बाहुल्यताले जक्डिएको एंव फरियामा लपेटिन लागेको काँग्रेस कि मुलुकको समृद्धि , राजनीतिक स्थिरता र लोकतान्त्रिक संविधानको रक्षार्थ लडनेहरुले भरिएको काँग्रेस ? महङ्गि, कालोबजारी , तस्करी , ब्यभिचारि, भ्रष्टाचारि, समाजिक बिकृति बिसंगति गर्नेहरुले भरिएको काँग्रेस कि यिनिहरुको विरुद्ध लडनेहरुको काँग्रेस ? वैचारिक ब्यक्तित्व, कुशल नेतृत्व , असल आचरण र आर्थिक पारदर्शिता रहितको काँग्रेस कि सहितको ? नैतिकवान, निष्ठावान, अनुशासित एंव इमान्दार प्रतिबद्ध, लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपुर्ण योगदान गरेका, दु:ख पाएका कार्यकर्ता एंव नेतृत्वहरुलाई गुटबन्दी एंव जातीय बाहुल्यताको आधारमा संगठन संरचनाबाट बंचित गरिएको काँग्रेस कि यस्ता कार्यकर्ताहरुले भरिएको काँग्रेस ? एकचोटि मनन गरौं । चिन्तन गरौं । अनि विबेक पुर्याएर निर्णय गरौं । शसक्त काँग्रेस सबैको कांग्रेस बनाउने अभियानमा ! समावेशीताको सिद्धान्त अनुरुप सबैको पहिचान सबैको प्रतिनिधित्व सबैको स्वामित्व रहेको हामि सबैको काँग्रेस बनाउन एकजुट भएर अग्रसर होऔं। जय नेपाल ।

Comment here